हिन्दु धर्मावलम्बीहरूले शुक्रबार बसन्त पञ्चमी अर्थात् सरस्वती मनाउँदैछन्।
आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्नेको भिड लाग्छ।
आजकै दिन विद्यालय नपठाएका साना बालबालिकाहरूलाई अक्षरारम्भ गराउने चलन छ। सरस्वतीको पूजाको दिन अक्षरारम्भ गरिए विद्या आउने विश्वास रही आएको छ। यसै अवसरमा विद्यालय तहमा पनि सरस्वती पूजा आराधना गरिएको छ।
यसैदिन विवाह, व्रतबन्ध, गुफा बस्ने जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु नपर्ने धार्मिक विश्वास समेत रही आएको छ।
यसै अवसरमा काठमाडौं उपत्यकाको स्वयम्भू, मैतिदेवी र गैरीधारास्थित नील सरस्वती, ललितपुरको लेलेमा सरस्वती पूजा आराधना गर्नेको घुइँचो लाग्ने गर्दछ।
सरस्वतीलाई चढाइएको सात गेडा अक्षता नछोई निलेमा विद्या र वुद्धि वृद्धि भई विद्यादेवीबाट चेतनाको ज्योति पाईन्छ भन्ने धार्मिक विश्वास छ।
कोरोना महामारीका कारण अघिल्लो वर्षमा झै यस वर्ष पनि काठमाडौंको स्वयम्भु, मैतीदेवी, निल सरस्वतीस्थान लगायतमा आराधना गर्नेको संख्या पातलिएको छ।

