पुस २०-
अमेरिकाको विशेष सैन्य कारबाहीमा पक्राउ परेका भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई अहिले न्यूयोर्क ल्याइएको छ।
अमेरिकी सैन्य विमानमार्फत मदुरो दम्पतीलाई न्यूयोर्क सहरको उत्तरमा रहेको स्टुअर्ट इन्टरनेसनल एयरपोर्ट ल्याइएको अमेरिकी अखबार ‘वासिङ्टन पोस्ट’ ले जनाएको छ।
उनीहरू न्यूयोर्क पुगेकै दिन अमेरिकी न्याय मन्त्रालयले उनीहरूविरूद्ध नयाँ अभियोग सार्वजनिक गरेको छ।
न्याय मन्त्रालयका अनुसार मदुरो र फ्लोरेसले आपराधिक षड्यन्त्रमार्फत अमेरिकामा कोकिन आपूर्ति बढाउने प्रयास गर्दै अवैध रूपमा ठूलो सम्पत्ति आर्जन गरेका छन्।
यसअघि नेपाली समय अनुसार शनिबार राति साढे १० बजे फ्लोरिडास्थित ‘मार–ए–लागो’ क्लबमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य कारबाहीपछि केही समयका लागि भेनेजुएलाको नियन्त्रण अमेरिकाले लिने बताएका थिए।
‘हामी यो देशलाई व्यवस्थित र व्यावसायिक ढंगले सञ्चालन गर्नेछौं। विश्वकै ठूला तेल कम्पनीहरूलाई भित्र्याएर अर्बौं डलर लगानी गराइनेछ,’ ट्रम्पले भने।
उनले अमेरिकी सेनाको प्रत्यक्ष तैनाथीको सम्भावनालाई पनि अस्वीकार गरेनन्।
‘हामी जमिनमा सेना उतार्न डराउँदैनौं,’ उनले थपे।
अमेरिकी सेनाका अनुसार उक्त कारबाहीमा आक्रमण र गुप्तचर क्षमतायुक्त गरी १५० भन्दा बढी विमान प्रयोग गरिएको थियो।


