एएफसी महिला एसियन कपको छनोट प्रतियोगितामा नेपालले बुधबार आफ्नो दोस्रो खेल खेल्दैछ । नेपाली टोलीले आफ्नो दोस्रो खेलमा श्रीलंकाको सामना गर्दैछ । नेपाल र श्रीलंकाबीचको खेल नेपाली समयानुसार, साँझ १८:१५ बजे शुरू हुनेछ ।
एएफसी एसियन कप छनोट प्रतियोगिताको समूह ‘एफ’ अन्तर्गतको खेल उज्बेकिस्तानमा भइरहेको छ । उक्त समूहमा नेपाल र श्रीलंकाका अतिरिक्त आयोजक उज्बेकिस्तान र लाओस छन् ।
नेपाली टोलीले आफ्नो पहिलो खेलमा लाओसलाई ९–० गोलको फराकिलो अन्तरले हराएको थियो । उक्त खेलमा नेपालका लागि सावित्रा भण्डारी ‘साम्बा’ ले ह्याट्रिकसहित चार गोल गरेकी थिइन् ।
उनी त्यो खेलमा कप्तानको भूमिकामा थिइन् । यसका अतिरिक्त, अनिता बस्नेत, सरु लिम्बु, अनिता केसी र रश्मी घिसिङले पनि गोल गरेका थिए । थप एक गोल भने लाओसका खेलाडीबाट आत्मघाती रूपमा भएको थियो ।
जारी छनोट प्रतियोगितामा चारवटै टोलीले एक–एक खेल खेलिसक्दा तीन अंकसहित उज्बेकिस्तान पहिलो र समान अंक बटुलेको नेपाल दोस्रो स्थानमा आसिन छन् । उज्बेकिस्तानले आफ्नो पहिलो खेलमा श्रीलंकालाई १०–० गोलको फराकिलो अन्तरले हराएको थियो ।
श्रीलंकाविरुद्धको खेल अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको राष्ट्रिय महिला टोलीले खेल्न लागेको १०१औँ खेल हुनेछ । नेपाली महिला टोलीले सन् १९८६ मा हङकङमा सम्पन्न एएफसी च्याम्पियनसिपको छैटौं संस्करणदेखि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन थालेको हो ।
श्रीलंकाविरुद्धको खेल नेपाली महिला टोलीका विदेशी प्रशिक्षक प्याट्रिक डे वाइल्डको दोस्रो खेल हो । त्यसैले प्रशिक्षक प्याट्रिक पनि आफ्नो विजययात्रालाई निरन्तरता दिने अभियानमा रहने छन् ।
जारी प्रतियोगितामा नेपाली टोलीले आफ्नो तेस्रो तथा अन्तिम खेल जुलाई ५ तारिखमा आयोजक उज्बेकिस्तानसँग खेल्नेछ । त्यसपछि अंक तालिकाको पहिलो स्थानमा रहने टोली सन् २०२६ को एएफसी महिला एसियन कपमा छनोट हुनेछ ।
एएफसी महिला एसियन कपको २१औँ संस्करण सन् २०२६ को मार्च १ देखि २१ तारिखसम्म अस्ट्रेलियामा आयोजना हुनेछ । महिला एसियन कप सन् २०२७ मा ब्राजिलमा आयोजना हुने फिफा महिला विश्वकपको १०औँ संस्करणका लागि छनोट प्रतियोगिता पनि हो ।
यसपटक महिला एसियन कपलाई सन् २०२८ मा अमेरिकाको लस एन्जल्समा आयोजना हुने गृष्मकालीन ओलम्पिकका लागि पनि छनोट प्रतियोगिताका रूपमा लिइएको छ । एसियन कपको क्वार्टरफाइनलमा पुग्ने आठ टोलीले आगामी ओलम्पिकका लागि महिला फुटबलको एसियाली क्षेत्रको छनोट चरणमा स्थान बनाउने छन् ।
त्यसैले पनि यो प्रतियोगिता नेपालका लागि निकै महत्वपूर्ण छ । नेपालले हालसम्म तीनपटक एएफसी एसियन कपको फाइनल चरण खेलेको छ । नेपालले पछिल्लो पटक २७ वर्षअघि महिला एसियन कपको फाइनल चरण खेलेको थियो ।
छनोट चरण पार गरेर भने हालसम्म नेपाली टोलीले एसियन कपको फाइनल चरण खेलेको छैन । यस अर्थमा पनि नेपाली महिला टोलीका उज्बेकिस्तान भ्रमण अर्थपूर्ण छ । नेपाली टोलीले सन् १९८६ मा पहिलो पटक एएफसी महिला एसियन कपको फाइनल चरण खेलेको थियो ।
त्यसपछि नेपाली टोलीले सन् १९८९ मा आयोजित महिला एसियन कपको सातौँ संस्करण पनि खेलेको थियो । नेपाली टोलीले सन् १९९९ मा फिलिपिन्समा आयोजित महिला एसियन कपको फाइनल चरण खेलेको थियो ।
यसपटक, एएफसी एसियन कपको छनोट चरणमा सहभागी ३४ वटा टोलीलाई आठ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहबाट एक–एक टोली अन्तिम चरणको प्रतियोगिताका लागि छनोट हुने प्रवधान रहेको छ ।
हालसम्म चारवटा टोली फाइनल चरणमा पुगिसकेका छन् । अस्ट्रेलियाले आयोजकका रुपमा फाइनल चरण खेल्ने अवसर पाएको हो भने चीन अघिल्लो संस्करणको विजेता, दक्षिण कोरिया उपविजेता र जापान तेस्रो स्थान हासिल गर्ने टोलीका रुपमा यसपटक फाइनल चरणमा पुगेका हुन् । बाँकी आठ टोलीको टुंगो भने छनोट प्रतियोगितापछि लाग्नेछ ।
उज्बेकिस्तानमा जारी छनोट प्रतियोगिताका लागि घोषित नेपाली टोलीमा गोलरक्षकको भूमिकामा अञ्जिला तुम्बापो सुब्बा, अञ्जना रानामगर र उषा नाथ रहेका छन् । डिफेन्डरमा गीता राना, निशा ठोकर, समीक्षा घिमिरे, मनमाया दमाई, प्रतिक्षा चौधरी, विमला विक, पूजा राना र अमृता जैशी छन् ।
यसैगरी, मिडफिल्डरमा विमला चौधरी, अनिता बस्नेत, रेनुका नगरकोटी, प्रीति राई, सरु लिम्बु, सविता रानामगर र सरस्वती हमाल रहेका छन् । फरवार्डमा भने सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल छन् ।

