भरतपुर,असार १६-
दोस्रो भरतपुर मेयर कप फुटबलको उपाधि वाल्मीकि शिक्षा सदनले हात परेको छ। आज (सोमबार) भएको फाइनल खेलमा डन एकेडेमीलाई १-० ले हराउँदै वाल्मिकि च्यामपियन बन्न सफल भएको छ।
वाल्मिकिका लागी अमृत आचार्यले निर्णायक गोल गरेका थिए। उनले दोस्रो हाफको २७ औं मिनेटमा प्राप्त पेनाल्टीको सदुपयोग गर्दै निर्णायक गोल गरेका हुन् । विजेता वाल्मीकिले ट्रफीसहित ५० हजार प्राप्त गरेको छ । उपविजेता डन एकेडेमीले भने २५ हजारमा चित्त बुझाएको छ ।
फाइनलमा निर्णायक गोल गरेका अमृत प्लेयर अफ दि म्याच भए । वाल्मीकिका सरोज गुरुङ एलेक्स बेस्ट प्लेयर भए । उनले ५ हजार प्राप्त गरे । वाल्मीकिका विराज जमरकट्टेल बेस्ट गोलकिपर, डनका मनिष दिङ्गल बेस्ट डिफेन्डर, डनकै प्रसन कुँवर बेस्ट मिडफिल्डर, वाल्मीकिका धुर्व भुसाल र डनका सुमन श्रेष्ठ संयुक्त रुपमा बेस्ट कोच घोषित भए ।
नकआउटमा ३ गोल गरेका दुर्गा शेषकान्त माविका साईमन तामाङ सर्वाधिक गोलकर्ता भए । उनीहरुले जनही ३–३ हजार प्राप्त गरे । चितवन जिल्ला फुटबल संघको आयोजनामा तथा भरतपुर महानगरपालिकाको प्रवद्र्धनमा आयोजित प्रतियोगितामा २४ टोली सहभागी थिए । प्रतियोगिताको मुख्य प्रायोजकमा सेन्ट्रल कलेज रहेको थियो ।

