काठमाडौं – युवा ब्याटर शुभमन गिल भारतीय टेस्ट टोलीको नयाँ कप्तान नियुक्त भएका छन् । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले आगामी इंग्ल्याण्ड भ्रमणका लागि टोली घोषणा गर्दा गिलले कप्तानको जिम्मेवारी पाएका हुन् ।
टोलीको उपकप्तानमा रिषभ पन्त छन् । त्यस्तै बाँयाहाते पेस बलर अर्शदीप सिंह पहिलोपटक टेस्ट टोलीमा समावेश भएका छन् । २५ वर्षीय गिल भारतका लागि टेस्टमा कप्तानी गर्ने पाँचौं कान्छा हुन्। यसभन्दा अघि मन्सूर अली खान पटौदी, सचिन तेन्दुलकर, कपिल देव र रवि शास्त्री यो सूचीमा छन्।
यसअघि पूर्वकप्तान रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्यास लिएपछि नयाँ कप्तान चयन गरिएको हो । यसै महिना रोहितपछि अर्का स्टार ब्याटर विराट कोहलीले सन्यास लिएका थिए । रविचन्द्रन अश्विनले यसअघि नै टेस्ट क्रिकेटबाट सन्यास लिएका छन्। हाल आईपीएलमा गुजरात टाइटान्सको कप्तानी सम्हालेका गिलले दोस्रो सिजनमै टिमलाई प्लेअफसम्म पुर्याएका थिए। यद्यपी, उनीसँग प्रथम श्रेणी क्रिकेटमा कप्तानीको अनुभव धेरै छैन।
भारतको १८ सदस्यीय टोलिमा करुण नायर, शार्दुल ठाकुर र साई सुदर्शन पनि समावेश छन्। तर अनुभवी पेस बलर मोहम्मद शामी भने टोलीबाट बाहिर छन्।

