भरतपुर- नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा चितवनको नारायणी किनार सांगीतिक उत्सवले गुञ्जियो । गत चैत्र ३१ गते ‘मिसन रेड न्यू इयर फेस्ट’ नामक भव्य सांगितिक कन्सर्टमा हजारौँ दर्शक झुमे ।
एसडी इभेन्ट्स एण्ड म्यानेजमेन्टको आयोजनामा सम्पन्न सो कार्यक्रममा मुख्यतया नेपालका चर्चित पाँच ब्यान्डको प्रस्तुति रह्यो ।तीन स्थानिय ब्यान्डको प्रस्तुतीमा पनि दर्शक कम नाचेका भने होइनन् ।कार्यक्रम हुने दिनमै हर चीजले साथ दिएपनि मौसम प्रतिकुल रह्यो ।एक्कासी कालो बादल मडारिदैँ कार्यक्रमस्थलमै भारी वर्षा भयो ।हावाहुरी चल्यो ।कार्यक्रम सुरू हुने भनिएको दिउँसो तीन बजेको समयमा पानी परेकै कारण निर्धारित समयमा कार्यक्रम हुन सकेन ।तर केहि समयपछि पानी रोकिनासाथ ढाकिएका कभर खुल्दा कार्यक्रम हुने भएपछि इभेन्ट व्यवस्थापक सुशान्त रिमालले लामो सास लिएको अनुभव सुनाउँछन् । त्यसलग्तै कार्यक्रमस्थलमा दर्शकको ओइरो लागेको उनी सम्झिन्छन् ।
साँझको समयमा उद्घोषक सुगरिका केसी र जय प्रधान स्टेज उक्लेर माइक समात्न थालेपछि अब चाहि कन्सर्ट हुनेमा ढुक्क भएको उनले बताए ।सुरूवातमा स्थानिय ब्यान्डहरू इराज ,इकोज र उर्जा व्यान्डले माहोल तताए ।त्यसलगत्तै कन्सर्टमा मन्त्र, कुटुम्ब, द एक्स ब्यान्ड, समीर श्रेष्ठ एण्ड गुड बोइज तथा केहर एण्ड जोए जस्ता चर्चित ब्यान्डको प्रस्तुतिमा हजारौँ दर्शक नाच्दै गाउँदै झुमेको उनी सुनाउँछन् ।कार्यक्रम स्थलमा राखिएको स्टलबाट सामान ल्याएर दर्शक कार्यक्रम अवधिभर संगितले मन्त्रमुग्ध बने ।
कार्यक्रमका लागि खल्ती एपमार्फत अनलाइन टिकट खरिदको व्यवस्था गरिएको थियो ।मिसन रेड अभियान अन्तर्गत भएको भव्य सांगितिक कन्सर्टले युवाहरूमा संगित मार्फत रगतबारे सचेतना दिने उदेश्यले गरिएको कार्यक्रम प्रभावकारी बनेको मिसन रेड अभियानका संयोजक अर्जुन अधिकारीले जानकारी दिए ।आगामी दिनमा समेत थप प्रभावकारी कार्यक्रम गर्दै जाने अधिकारीको भनाइ छ ।

