चितवन – सिएसआइटी एसोसिएसन अफ नेपाल (सिएसआइटीएन) को चितवन शाखाले आगामी फाल्गुन १६, १७ र १८ मा सिएसआइटीएन ह्याकफेस्ट नामक ३६घन्टे ह्याकाथन प्रतियोगिता आयोजना गर्न लागेको छ । भरतपुरमा हुने यस प्रतियोगितामा +२ र स्नातक स्तरका विद्यार्थीहरूले भाग लिन सक्ने छन् ।
सहभागीहरूले प्रविधि र नवप्रवर्तनका विभिन्न चुनौतीहरूको समाधान प्रस्तुत गर्ने छन् । यस प्रतियोगितामा भाग लिनका लागि नाम दर्ता गर्न शुल्क नलाग्ने तर छनौट भएका प्रत्येक टिमको दर्ता शुल्क ३ हजार रुपैयाँ राखिएको छ। प्रत्येक टिममा २ देखि ३ जना सदस्य राख्न सकिने छ। प्रतियोगितामा सहभागी भएका टिमबाट आयोजकले उत्कृष्ट टिम चयन गर्ने छ।
प्रतियोगितामा सहभागी टिमलाई ५ वटा थिम दिइने छ, जसमा सहभागीहरूले Climate Action, Sustainable Cities and Communities, Industry Innovation and Infrastructure, Decent Work and Economic Growth र Quality Education जस्ता थिमहरूमा आधारित प्रोजेक्ट तयार गर्नुपर्ने हुन्छ।
प्रतियोगितामा नाम दर्ता गर्नको लागि अन्तिम मिति फाल्गुन ४ तोकिएको छ । प्रतियोगिताको दौरान आवास र खानाको व्यवस्था पनि गरिएको छ, जसले सहभागीहरूलाई प्रतियोगितामा ध्यान केन्द्रीत गर्न मद्दत गर्ने सिएसआइटीएन चितवनकी अध्यक्ष सुदीक्षा ओझाले बताइन् । प्रतियोगिताको विजेतालाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । यसका साथै कुपन कोडहरु, भौचरहरु तथा मर्चेन्डाइज पुरस्कारहरु समावेश गरिएको उनले जानकारी दिइन् ।
ओझाले भनिन्, “सिएसआइटी चितवन शाखाले प्राविधिक विद्यार्थीहरूको लागि एक उत्कृष्ट प्लेटफर्म सिर्जना गर्न चाहन्छ, जसले उनीहरूको क्षमता र नवप्रवर्तनमा आधारित विचारलाई प्रोत्साहन दिनेछ।”
सिएसआइटी चितवन शाखा २०१४ मा स्थापना भएको हो । यो शाखा प्राविधिक विद्यार्थीहरूको क्षमता विकासका लागि वर्कशप, इभेन्ट, सेमीनार र ह्याकाथन जस्ता कार्यक्रमहरू आयोजना गर्दै आएको छ। संस्थामा हाल १५ जना कोर सदस्य र ३० भन्दा बढी सदस्य रहेका छन्।
सिएसआइटीएन ह्याकफेस्टले सहभागीहरूलाई रचनात्मक सोच र नयाँ समाधानको खोजी गर्ने एक सशक्त अवसर प्रदान गर्ने विश्वास गरिएको छ । सिएसआइटीएन ह्याकफेस्टले चितवन शाखाका लागि ठूलो उपलब्धि साबित हुने अपेक्षा गरिएको छ । यसले भविष्यमा प्राविधिक क्षेत्रमा नवप्रवर्तन र सृजनशीलताको नयाँ अध्याय लेख्नेछ ।

