बिरगंज- पर्सा
पर्सा प्रहरीले एक करोड एकतिस लाख पन्ध्र हजार छ सय अन्ठान्वे बराबरको मालबस्तुहरू लोड रहेको दुईवटा ट्रकहरू नियन्त्रणमा लिएको छ।
विशेष सूचनाको आधारमा भदौ ९ गते राति १०:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं.८ घण्टाघरबाट प्र.७-०१-००१ ख ३०८८ र ना.३ ख ५१६५ नम्बरको मालबाहक ट्रकहरूलाई चेकजाँच गर्ने क्रममा विल विजक भन्दा बढीका कपडा, औषधी तथा खुद्रा मालबस्तुहरू लोड रहेकाले तथा बिलबिजक सन्कास्पद देखिएकाले ट्रकहरु पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ।

वीरगञ्जबाट चितवन तथा कैलालीतर्फ लैजाँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उल्लेखित नम्बरहरूको मालबाहक ट्रकहरूलाई बिरगंजको घण्टाघरबाट नियन्त्रणमा लिइ थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको पर्सा प्रहरीद्वारा जारी गरिएको प्रेस-विज्ञप्तीमा उल्लेख छ।
सो ट्रकहरुमा १ करोड ३१ लाख १५ हजार ६ सय ९८ बराबरका कपडा ,औषधी तथा खुद्रा मालबस्तुहरू लोड रहेको प्रवक्ता डिएसपी दिपक भारतीले जनाए।

