चितवन : भरतपुर अस्पतालमा आजदेखि ‘एमआरआई’ सेवा सञ्चालनमा आउने भएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार बुधबार प्राविधिक परीक्षण गरेर सफलता मिलेपछि बिहीबारदेखि ‘थ्री टेस्ला एमआरआई ६४ सलाइस’ को उकरण सञ्चालनमा ल्याउन लागिएको हो ।प्रा डा पौडेलका अनुसार सङ्घीय सरकारले उपलब्ध गराएको रु २५ करोड र अस्पताल विकास समितिको रु पाँच करोड गरी रु ३० करोडमा मेसिन खरिद गरिएको हो ।
स्वास्थ्य बीमाले तय गरेको रु नौ हजारदेखि १४ हजार शुल्कमा उपकरणबाट स्वास्थ्य परीक्षण हुने उनले जानकारी दिए। दैनिक २५ जनासम्मलाई सेवा दिन सकिने जनाइएको छ । अस्पतालमा दुर्घटनालगायतका बिरामीको एमआरआई गर्नुपरेमा विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल लगायत अन्यत्र जानुपर्ने बाध्यता थियो । अस्पतालमा आउने बिरामीमध्ये दुर्घटनाका धेरै हुने बताइएको छ । अस्पतालमा सिटीस्क्यान, भिडियो एक्सरेलगायतका उपकरण यसअघि नै सञ्चालित छ । अस्पतालमा ‘क्याथल्याब’ सञ्चालन गर्ने तयारी गरिएको छ ।

