बि.स. २०२८ साल साउन २८ गते शुक्रबारका दिन बुवा कुलप्रसाद अधिकारी र आमा फुलमाया अधिकारीको कोखबाट जन्मनुभएका कृष्ण भनेर चिनिने माडी नगरपालिका ७ देबेन्द्रपुरका लेखनाथ अधिकारी तत्कालीन समयमा प्रशासनिक कामका लागि भरतपुर जानेक्रममा तत्कालीन नेकपा माओवादी पार्टीले राखेको बिद्युतिय धरापमा परी २ वटा खुट्टा ढाड र छातीको करङ्ग र हात भाँचिएको र हाल देब्रे खुट्टामा स्टिल राखेर अहिले सामान्य हिडडुल गर्दै आउनुभएको छ । र उहाँको अहिले पनि छातीको करङ्ग दायाँतिरको भित्र पसेको छ भने बायाँतिरको ३ वटा करङ्ग बाहिर निस्किएको छ । यसै समसामयिक बिषयबस्तुमा रहेर हाम्रा सहकर्मी अजित अधिकारीले बाँदरमुढे घट्ना पीडित समितिका उपाध्यक्ष अधिकारीसंग गर्नुभएको कुराकानी
कहालीलाग्दो बाँदरमुढे घट्नालाई तपाईं कसरी स्मरण गर्नुहुन्छ ?
हृदयबिदारक घट्ना घटेको पनि आज १८ बर्ष पुगेर १९ बर्ष प्रवेश गरिसकेको छ । म त्यतिबेला प्रशासनिक कामको लागि भरतपुर जाँदै थिए । त्यहाँ पुग्दा बसको क्यारक्यार आवाज आइरहेको थियो । प्यासिन्जर सबैको अड्कल बसको बडी भागमा होला भन्ने रह्यो । आखिर त्यस्तो नभई एक्कासी ठुलो आवाजमा ड्वाम्म गरेको आवाज आएको मलाई थाहा नै भएन म बेहोस भएछु । पछि सुन्नमा आएअनुसार सिबिर ड्रेसमा ७ जना आर्मी रहेछन् । त्यस घट्नामा ७५ जना घाइते र ३९ जनाको मृत्यु भयो ।
घट्ना पश्चात् तपाईं बेहोस हुनुभयो र होसमा कति समयमा आउनुभयो ?
सुरुमा मलाई केहीपनि थाहा भएन, बाँदरमुढे घट्नास्थलबाट उपचारका लागि एम्बुलेन्समा र त्यहाँबाट काठमाडौंको छाउनी अस्पतालमा लगियो । म घाइते र अर्धचेत अबस्थामा भएको बिहान ९ बजेतिर थाहा भयो ।
थाहा भएपछि तपाईंलाई कस्तो भयो ?
म यस्तो भएको बिश्वास लागेन पत्रपत्रिका, रेडियो, टेलिभिजन र अखबारहरुमा सबैतिर मेरो बारेमा समाचार आउदा सम्मपनि बिश्वास लागेन र पछि बिस्तारै थाहा पाए ।
घट्ना भएपछि तपाईं बिरामी अबस्थामा हुँदा तपाईंलाई सबैभन्दा पहिला ककसले भेटे ?
मलाई सबैभन्दा पहिला अन्तराष्ट्रिय मानवअधिकारकर्मी, रेडक्रसकर्मी, पत्रकार र सबै सरोकारवालाहरुले भेटे ।
घट्नापश्चात् उपचारमा कोहीकसैले सहयोग गरे या गरेनन् ?
सुरुमा आफ्नै खर्चमा उपचार गरे, उपचार गर्दा सुरुमा छाउनी अस्पतालमा आर्मीहरुले २५ दिन सम्मको उपचारको ब्यबस्था मिलाए । त्यसपछि आफैले उपचार गरियो झन्डै त्यतिबेला ७ लाख रुपैयाँ खर्च भयो ।
सहयोग पाउनुभयो कि नाइँ ?
मैले एन्जियो आइन्जियोबाट ह्विलचियर, बैशाखी, र छोराछोरीलाई पढ्नको लागि केही पैसा राज्यबाट २०% (प्रतिशत) घाइते मुल्यांकन मार्फत ४० हजार पाएको थिए ।
घट्नापश्चात् तपाईंको भेट नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसंग भेट भयो कि नाइँ ?
उहाँसंग जम्मा एक पटक चितवनको फुलबारीमा भेट भएको थियो । थुप्रै आश्वासन दिए तर कुनै पनि मुल्यांकन भएन । र उहाँ दुईपटकसम्म प्रधानमन्त्री बन्दा र यसै क्षेत्रको सांसद पनि हुनुहुन्छ । यो समयमा पनि उहाँले पीडितहरुलाई कयौं आश्वासन दिनुभयो । तर पनि पूरा गर्न सक्नुभएन र यो बीचमा माओवादी केन्द्रको म प्रति हेर्ने नजर पनि अलि फरक छ । जस्तोकी, उहाँ माडी आउदै गर्दा पहिले मेरो घरमा सुरक्षा फौजहरु वाइसीएलका कार्यकर्ताहरुले घर घेर्ने र अपमानित तवरले हेर्ने क्रम जारी छ । तपाईंले सोध्ने बित्तिकै मलाई याद आयो, घट्ना घटेको केही बर्षपछि माडीमा पहिलो पटक प्रथम माडी महोत्सव गरिएको थियो । त्यो समयमा कार्यक्रम उद्घाटन गर्न प्रचण्ड माडी आउने खबर थाहा पाएको थिए । म लगाएत हामी पीडित परिवारले आफ्नो पाराले कालो झण्डा देखाउन जानेक्रममा प्रहरी प्रशासनले भेट्न छ भनी कुराकानी गर्ने क्रममा मलाई ईप्रका बसन्तपुरमा ६ घण्टा हिरासतमा राखिएको थियो ।
त्यसपछि प्रचण्ड उद्घाटन सकेर के भनेर गए त, तपाईंहरुका लागि ?
उनले कार्यक्रम उद्घाटन गर्दै, बाँदरमुढे घाइते मृतक परिवार सबैलाई ६० लाख राहत प्याकेज घोषणा गरे । तर त्यो लागु गर्न उनले सकेनन् । उनी कयौं पटक प्रधानमन्त्री भए तर यो बारेमा उनले काम गरेनन् ।
अन्त्यमा जाँदाजाँदै के भन्नुहुन्छ ?
हामीलाई राज्यले नयाँ अबधारणा सहित राहत र प्याकेजका कार्यक्रमहरु ल्यायोस् आश्वासन दिनको लागि मात्र झुटा प्याकेज नआउन् । दोषीलाई कारबाही गरियोस् र अन्तमा बिद्युतिय धरापमा परि ज्यान गुमाउनु भएका सबैमा हार्दिक श्रद्धासुमन र घाइते भएका योद्धाहरु अझैपनि बिस्तारामा छटपटाईरहनुभएको छ । उहाँहरुलाई उपचारका लागि पहल गरियोस् । र शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
हाम्रो प्रश्नमा आफ्नो बिचार राखिदिनुभएकोमा यहाँलाई धन्यवाद छ ?
मलाई पनि बिचार राख्ने अबसर दिनुभएकोमा यहाँलाई पनि धन्यवाद !

