भरतपुर, २२ पुष ।
नेपाल पशुपन्छी औषधि व्यवसायी संघको १४ औं राष्ट्रिय महाधिवेशन तथा ३३ औं वार्षिक साधारण सभा चितवनको भरतपुरमा हुने भएको छ ।
संघको राष्ट्रिय महाधिवेशन पुष २४ र २५ गते भरतपुरस्थित दियालो फुडल्याण्डमा हुने आज (आइतबार) आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिईएको हो । कार्यक्रमको भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले उद्घाटन गर्नुहुनेछ ।
दुई दिनसम्म चल्ने कार्यक्रममा देशैभरका सात प्रदेश र २२ शाखाबाट महाधिवेशन प्रतिनिधि, कम्पनी प्रतिनिधि, परिवेक्षक, संघ संस्थाका प्रतिनिधि एवं नियमनकारी निकायहरुबाट गरि करिब एक हजार प्रतिनिधिहरु सहभागी हुनेछन् । संघमा हाल एक हजार ९२३ सदस्य आवद्ध छन् ।
पाँच बराबर एक प्रतिनिधि रहने गरि विधानको व्यवस्था अनुसार चार सय ८१ महाधिवेशन प्रतिनिधि संख्या रहने अध्यक्ष पूर्णचन्द्र सापकोटाले जानकारी दिनुभयो । महाधिवेशनले २१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । समितिको कार्यकाल दुई वर्षे हुनेछ ।
महाधिवेशनमा कृषि तथा पशुपन्छी मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघ, पोल्ट्री महासंघ, ह्याचरी उद्योग संघ, नेपाल औषधि पैठारी संघ, उत्पादक संघ, कम्पनीलगायतको उपस्थिति रहने महासचिव नारायणबहादुर भुजेलले जानकारी दिनुभयो ।
भुजेलका अनुसार नेपालमा २० वटा स्वदेशी कम्पनीले भेटेरीनरी औषधि, भ्याक्सिन र फिड सप्लिमेन्टहरु उत्पादन तथा बिक्री वितरण गर्दै आएका छन् । यस्तै एक हजार ४०० पैठारीकर्ता रहेका छन् । औषधि, भ्याक्सिन र फिड सप्लिमेन्टहरुहरुको बजार वार्षिक १३ अर्वको रहेको समेत उहाँले जानकारी दिनुभयो।
नेपालमा औषधि, भ्याक्सिन र फिड सप्लिमेन्टहरुको मागको २० प्रतिशत यही उत्पादन हुने तथा ८० प्रतिशत आयात हुने गरेको छ । तीन लाख जनशक्तिलाई रोजगार प्रदान गरेको यस क्षेत्रमा एक सय ५० अर्वको लगानी रहेको छ । भुजेलका अनुसार यस क्षेत्रले देशको कुल ग्राहस्थ उत्पादनको चार प्रतिशत र कृषि क्षेत्रमा मात्रै २५ प्रतिशत योगदान पुर्याएको छ ।

