चितवन : भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र नेपालका लागि श्रीलंकाका राजदूत सुर्दशना पाथिरानाबीच शिष्टाचार भेटवार्ता भएको छ । मंगलबार भरतपुर महानगरपालिकामा भएको भेटवार्तामा आपसी हित, दुई देशबीचको सम्बन्ध, विकासमा भरतपुर र श्रीलंकाबीच गर्न सकिने सहकार्यबारे छलफल भएको थियो ।
सो अवसरमा महानगरपालिका प्रमुख रेनु दाहालले मित्र राष्ट्र श्रीलंका र नेपालबीच लामो समयदेखि कुटनीतिक सम्बन्ध कायम रहेको उल्लेख गरिन् । प्रमुख दाहालले दक्षिण एसियाली सहयोग संगठन सार्कको दुई सदस्य राष्ट्र रहेको स्मरण गरिन् । भरतपुरले थालेको भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल बनाउन श्रीलंकाको रचनात्मक सुझाव र सहयोगको अपेक्षा पनि गरिन् ।
भेटवार्तामा नेपालका लागि श्रीलंकाका राजदूत सुर्दशना पाथिरानाले भरतपुर र श्रीलंककाको कोलोम्बु सहरबीच भगिनी सम्बन्ध स्थापनाका लागि सकारात्मक रहेको र यसका लागि पहल थाल्ने बताए । राजदूत पाथिरानाले भरतपुर र श्रीलंकाले शिक्षा, स्वास्थ्यलगायतका विषयमा दुई देशबीच सहकार्य गरी अगाडि बढ्न सकिने उल्लेख गरे ।
भरतपुरमा निर्माणधीन गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणमा आवश्यक प्राविधिक सहयोगका लागि श्रीलंका इच्छुक रहेको राजदूत पाथिरानाले बताए । राजदूत पाथिरानाले सोमबार नै रंगशालाको अवलोकन गरेका छन् । रंगशाला निर्माणका लागि राजदूत पाथिरानाले अलि बढी चासो देखाएका थिए। उनले भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल बनाउन श्रीलंकाबाट पर्यटकलाई भरतपुर पठाउन सक्दो सहयोग गर्ने बताए ।
कार्यक्रममा श्रीलंकाका लागि नेपाली राजदूत बासुदेव मिश्र, भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार राना, उपसचिव उपेन्द्र पौडेल, उपनिर्देशक जगन्नाथ अर्यालको उपस्थिति रहेको थियो ।


