चैत्र ३०, काठमाडौं । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राको बिदाइ अवसरमा आयोजित रात्रिभोजमा प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न मन्त्रीहरू र दलका वरिष्ठ नेताहरू भारतीय दूतावास पुगेका छन्।
क्वात्रा भारतको विदेश मन्त्रालयमा सचिव पदमा नियुक्त भएपछि फर्कन लागेका हुन्। आफ्नो बिदाइको अवसरमा उनले मंगलबार साँझ रात्रिभोज आयोजना गरेका थिए। रात्रिभोजमा प्रधानमन्त्री देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, गृहमन्त्री बालकृष्ण खाण, अर्थमन्त्री जनार्दन शर्मा, ऊर्जामन्त्री पम्फा भुसाल, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, कानुनमन्त्री गोविन्द बन्दी, सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले लगायत सहभागी भएका थिए।
त्यस्तै माओवादी नेता वर्षमान पुन, नेपाली कांग्रेसका नेता शेखर कोइराला र विमलेन्द्र निधि पनि रात्रिभोजमा पुगेका थिए। एमालेका तर्फबाट उपाध्यक्षहरू सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे र विष्णु पौडेलका साथै विदेश विभाग प्रमुख राजन भट्टराई सहभागी थिए। नेपाली सेना प्रमुख प्रभुराम शर्मा पनि राजदूतको बिदाइ रात्रिभोजमा पुगेका थिए।

