चैत्र २३, चितवन । स्थानीय सरकार सवैभन्दा नजिकको सरकार हो । स्थानीय आवश्यकताको पहिचान गरी सोही अनुसार योजना कार्यक्रम र बजेट बनाउने काम यही सरकारको हो। चितवनको इच्छाकामना गाउँपालिकाले आफ्नो ठाउँमा कृषिलाई व्यवसायिक गराउन कृषकहरुको पहिचान गरी नगद अनुदान उपलब्ध गराएको छ ।
किसानले व्यवसायिक कार्य गर्न सकेमात्रै गाउँपालिकाको आर्थिक समृद्धि हुने भन्दै गाउँपालिकाले नमुना खोर निर्माण र सुधारका लागि वडानम्वर १ का ३ वटा समूहभित्रका ३३ जना बाख्रा पालक किसानहरुलाई जनही १० हजार अनुदान उपलब्ध गराइएको अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिनुभयो । गुरुङका अनुसार यो पहिलो चरणको कार्यक्रम भएको र बाँकी गाउँपालिका भित्रका ५२ वटा समूहमा आवद्ध १ सय ३० जना किसानलाई नमूना खोर निर्माण र सुधारका लागि यही आर्थिक वर्षभित्र अनुदान रकम हस्तान्तरण गरिनेछ ।
यसले बाख्रा पालनमा व्यवासयिकता मात्रै नभई गाउँपालिकालाई पकेट क्षेत्र बनाउने लक्ष्य सहित अभियान जारी रहने गाउँपालिका अध्यक्ष गुरुङले बताउनुभयो । समूहमा आवद्ध कृषकहरुमा उत्कृष्ट खोर निर्माण गर्ने एकजनालाई २५ हजार नगद रकम सहित पुरस्कृत गर्ने गाउँपालिका अध्यक्ष गुरुङले जानकारी दिनुभयो।
यसै कार्यक्रम अन्तर्गत अब छिट्टै किसानहरुलाई बिउ बाख्रा बाड्नुका साथै युवा र बा समूहहरु गठन गरि जीवन परिवर्तनको लागि आधारशिला तालिम दिने तयारी समेत गाउँपालिकाको रहेको गुरुङको भनाई छ ।

