चैत्र २१, काठमाडौं । जयनगर–कुर्था रेल सेवा नियमित सञ्चालन सुरु भएसँगै स्थानीय उत्साहित भएका छन् । भारतको नयाँ दिल्लीबाट शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले रेल सेवाको शुभारम्भ गर्नुभएको थियो ।
आइतबार बिहान साढे ८ बजे हिँडेको रेल जनकपुर स्टेशनमा झण्डै सवा दश बजे आइपुगेको थियो । पहिलो दिन जयनगरबाट कुर्था र कुर्थाबाट जयनगरसम्म पुगेको रेलमा साधारण र एसी दुवैतर्फ यात्रु भरिभराउ आएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाले जानकारी दिनुभयो । निर्धारित समय तालिकाअनुसार नै नियमित रेल चल्न थालेको उहाँको भनाइ छ । उहाँका अनुसार दिनको दुई पटक आउने र दुई पटक जाने गरी समय तालिका निर्धारण गरिएको छ । जयनगरबाट बिहानकाे साढे ८ र दिउँसाेकाे ३ बजे छुट्नेछ भने कुर्थाबाट बिहानकाे साढे दश र साँझकाे सवा पाँच बजे अर्को रेल छुट्ने उहाँले जानकारी दिनुभयो ।

लामो समयदेखि रेल चल्ने सुने पनि थन्किएको रेल देख्दै आएका धनुषावासी नियमित सञ्चालित रेल देखेर दङ्ग भएका छन् । स्थानीय युवा सञ्जय झा रेल नियमितरुपमा चल्न थाल्दा अबको केही वर्षमा नै जनकपुर र आसपासका ठाउँको अवस्था बदलिने आशा व्यक्त गर्नुभयो । रेल सेवा सुरु भएसंगै यहाँको पर्यटन, धार्मिक क्षेत्रको विकास हुने र स्थानीय उत्पादनको निर्यात बढ्ने उहाँको विश्वास छ । उहाँले भन्नुभयो, “हामीले आफ्नै ठाउँमा केही गर्छुभन्दा पनि अवसर मिल्ने देखिन्छ ।”
रेल नियमित सञ्चालन हुने हल्ला सुनेका जनकपुरवासी केही दिनदेखि नै उत्साहित भएका थिए । कतिपय शनिबार बिहानै त कतिपय शुक्रबार साँझदेखि स्टेशन पुगेर रेल हेर्दै थिए । कतिपयले रेलको फोटो र भिडियो खिचेर सामाजिक सञ्जालमा हाले त कतिपयले आफन्तजनलाई पठाए । जनकपुरका युवा, महिला, बालबालिका, ज्येष्ठ नागरिक र कतिपय जनकपुरबाट टाढा–टाढाबाट समेत रेल हेर्न आएका थिए ।
रेल रोकेर यात्रु चढाउन र झार्नका लागि सात ठाउँमा स्टेशन÷हल्ट छन् । तीनमा कुर्था, परवाहा, बैदेही, महिनाथपुर, खजुरी, इनर्वा र जयनगर छन् । नेपालले खरिद गरेको रेलगाडी छोटो दूरीमा रोकिन र सञ्चालन गर्न उपयुक्त हुने रेल विभागका प्रवक्ता (सिनियर डिभिजनल इन्जिनियर) अमन चित्रकारले बताउनुभयो । यसमा चालकले छोटो समयमा नै गति बढाउन र रोक्न सकिने हुन्छ । एउटा स्टेशनबाट चार पाँच किलोमिटरमा अर्को स्टेशन आउँछ । यसको डिजाइन स्पिड यात्रुबाहक गाडीमा १०० किमी प्रतिघण्टा रहेको छ । मालबाहक गाडीमा भने ६५ किमी प्रतिघण्टा रहने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “त्यही रेलमार्गमा यात्रु लैजाँदा चाँडो लैजान सक्ने भयो भने सामान लैजाँदा बढी समय लाग्दछ ।”
डेढवर्ष पहिले आइपुगेको रेल विभिन्न समस्याका कारण सञ्चालन हुन सकेको थिएन । कहिले कर्मचारी नहुने त कहिले कानुनको अभावले गर्दा लामो समय रेल सेट उसै थन्किएको थियो । अहिले सबै किसिमका तयारी सकिएकाले सञ्चालनका लागि बाटो खुलेको थियो ।
भारतको सरकारी कम्पनीमार्फत नै रेल सेट खरिद भएको हो । दुई सरकारबीच सम्झौता भई (जिटुजी) रेल खरिद भएको हो । कम्पनीले रेल सञ्चालनका लागि दक्ष प्राविधिकसहित प्रशासनिकलगायत आवश्यक कर्मचारी भर्ना गरिएको छ । रेल सञ्चालनका लागि हाल २६ भारतीय र ५९ नेपाली कर्मचारी कार्यरत रहेको कम्पनीले जनाएको छ । भारतीय कर्मचारीमा खासगरी चालक दलका र केही इन्जिनियर रहेको महाप्रबन्धक झाले जानकारी दिनुभयो ।

