चैत्र ०८, चितवन ।चितवनकी पत्रकार मनिका विश्वकर्माले सञ्चारिका प्रोत्साहन पुरस्कार प्राप्त गरेकी छन् ।सञ्चारिका समूहले आज प्रेषित गरेको विज्ञप्ति मार्फत् सो जानकारी गराएको हो ।पत्रकार महासंघ चितवनको साधारण सदस्य रहेकी उनले चितवनको एटुजेड अनलाइनबाट पत्रकारिता सुरु गरेर नारायणी अनलाइनमा काम गरेकी थिइन् । भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसका आमसञ्चार र पत्रकारिता विषय लिएर बीए तेस्रो वर्षमा अध्ययनरत उनी अहिले सेतोपाटीमा कार्यरत छन् ।
यसैगरी ‘सञ्चारिका प्रोत्साहन पुरस्कार २०७६ बाट विश्वकर्माएसहित नेपाल टेलिभिजनमा कार्यरत सीतादेवी पोखरेल (मिनु) लाई प्रदान गर्ने निर्णय गरिएको सञ्चारिका समूहले जनाएको छ । यसको साथै ‘सञ्चारिका प्रोत्साहन पुरस्कार २०७७’ पत्रकारद्घय गोरखापत्र अनलाइनमा कार्यरत सपना थामी र इकागज डट कममा कार्यरत सृजना खड्कालाई प्रदान गर्ने निर्णय गरिएको छ । छोटो अवधिमा सक्रिय भई पत्रकारिता गर्ने पत्रकार महिलालाई पेशामा थप उत्साह बढाउन सहयोग पु¥याउने उद्देश्यले २०६२ सालमा ‘सञ्चारिका प्रोत्साहन पुरस्कार’ स्थापना गरिएको जनाइएको छ ।
त्यसैगरी सञ्चारिका समूह नेपालद्वारा स्थापित ‘सञ्चारिका समानता पुरस्कार–२०७७’ कान्तिपुरमा प्रकाशित ‘अस्पताल नपुगी ज्यान गुमाउँछन गर्भवती र सुत्केरी’ फिचरका लागि पत्रकारद्घय फातिमा बानु र विद्या राईलाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरिएको छ । उक्त फिचर २०७७ भदौ ८ गतेको कान्तिपुरमा प्रकाशित भएको थियो । सञ्चारिका समानता पुरस्कारको राशि १५ हजार रुपैयाँ रहेको छ । तीन सदस्यीय पुरस्कार छनौट समिति गठन गरी छनौट गरिएका फिचरहरु उपलब्ध गराइएको सञ्चारिका समूहले जनाएको छ । छनौट समितिले समाचार\लेख\फिचरको शैली, विषयवस्तु, सन्देश, लैंगिक संवेदनशिलता, अन्वेषणजस्ता विषयवस्तुलाई आधार बनाएर मूल्याङ्कन गरेको हो । पुरस्कारका लागि छनौट भएका समाचार÷लेख÷फिचरमा सञ्चारिका समूहको अनलाइन पत्रिका ‘महिला खबर डट कम’ मा प्रकाशित लेख र समूहका कार्यसमितिमा रहेका पदाधिकारीहरूको समाचार÷लेख÷फिचर समावेश नगराइएको विज्ञप्तिमा उल्लेख छ साथै छनौट तथा मूल्याङ्कन प्रक्रियालाई निष्पक्ष बनाउनका लागि छनौट समितिलाई समाचार उपलब्ध गराउँदा पत्रकार र पत्रिकाको नाम समेत नखुलाइएको जनाइएको छ । ‘समानताका लागि सञ्चार’ भन्ने आफ्नो मूल नारालाई सफल रूपमा अघि बढाउने उद्देश्यले सञ्चारिका समूहले २०५७ सालदेखि हरेक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ ।
यसैगरी ‘स्व. उमा सिंह पत्रकारिता पुरस्कार २०७६’ रौतहट जिल्लाबाट पत्रकारिता गर्दै आएकी पत्रकार बिना राउतलाई प्रदान गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ । पत्रकार राउत रौतहट जिल्लाको रेडियो राजदेवी र फ्रन्टलाइन खबर दैनिकमा कार्यरत छन् । यसैगरि ‘स्व. उमा सिंह पत्रकारिता पुरस्कार २०७७’ रुकुम पश्चिम जिल्लाबाट पत्रकारिता गर्दै आएकी पत्रकार हिरा परियारलाई प्रदान गर्ने निर्णय गरिएको छ । पत्रकार परियार रुकुम पश्चिमबाट ग्यालेक्सी फोरके टिभीमा कार्यरत छन् । यो पुरस्कार स्व. पत्रकार उमा सिंहको नाममा स्थापना गरिएको हो । उक्त पुरस्कार पत्रकार महिलालाई पेशामा थप उत्साह बढाउनका लागि २०६६ सालमा स्थापना गरिएको हो । उक्त पुरस्कारको राशि सात हजार १११ रहेको छ ।
‘सञ्चारिका समानता पुरस्कार २०७६’ नयाँ पत्रिकामा २०७६ फागुन २५ गते प्रकाशित ‘महिलालाई रोजगारी पनि कम, ज्याला पनि कम’ फिचरका लागि पत्रकार मुना कुँवरलाई प्रदान गर्ने निर्णय भएको थियो । गत वर्ष र यस वर्ष घोषणा भएका सबै पुरस्कारहरु यहि चैत ११ गते शुक्रबारका दिन प्रदान गरिने सञ्चारिका समूहले विज्ञप्तिमार्फत् जनाएको छ ।


