चैत्र ०४, काठमाडौं ।नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले पाँच वर्षका लागि सडकमा पछारिएको कांग्रेसलाई आफूहरुले सत्तामा पुर्याएको टिप्पणी गरेका छन्। तर, आफूहरूले बुई चढाएर सडकबाट सत्तामा पुर्याएको कांग्रेसका केही नेतामा उन्माद देखिएको भन्दै पुनले आक्रोश पोखे।उनले माओवादी केन्द्र र सत्ता गठबन्धनमा आवद्ध अरू दललाई सार्वजनिक टिप्पणीमार्फत हेप्न र अपमान नगर्न चेतावनी दिए। पुनले सत्तामा रहेकालाई सडकमा र सडकमा रहेकालाई सत्तामा पुर्याउने हैसियत आफूहरूको रहेकाले विचार गरेर बोल्न सचेत गराए।
‘पाँच वर्षका लागि सडकमा पुगेको कांग्रेसलाई बुई चढाएर हामीले सत्तामा पुर्याएका हौं। आज केही कांग्रेस नेतामा सत्ता उन्माद देखिएको छ’, माओवादी लुम्बिनी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पुनले भने, ‘कांग्रेसका केही नेताले माओवादी केन्द्र र सत्ता गठबन्धनमा सहभागी दललाई हेप्ने, अपमान गर्ने र सार्वजनिक टिप्पणी गर्ने गरेका छन्। हामी सरकार बनाउन सक्छौं, भत्काउन पनि सक्छौं। सडककालाई सत्तामा र सत्ताका लागि सडकमा पुर्याउने ताकत हामीसँग छ। यो कांग्रेस नेताहरुले बुझ्न जरुरी छ।’
Advertisement
उनले चुनावी गठबन्धनविरूद्ध रहेका कांग्रेस नेतालाई चार वर्षअघि फर्किएर २०७४ को निर्वाचन परिणाम स्मरण गर्न सुझाए।


