चैत्र ०१, काठमाडौं ।सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)ले सरकार चलाइरहेका सात भारतीय राज्यले फिल्म ‘द कश्मीर फाइल्स’लाई मनोरञ्जन करमा छुट दिने घोषणा गरेका छन् । उत्तर प्रदेश, गुजरात, मध्यप्रदेश, त्रिपुरा, गोवा र हरियाणा राज्यले फिल्मलाई कर छुट दिने घोषणा गरेका हुन् ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले ट्वीटरमार्फत फिल्मलाई करबाट मुक्त गरिएको उल्लेख गरेका छन् । दोस्रो विधानसभा चुनावपछि पुनः सत्तामा फर्किएका मुख्यमन्त्री आदित्यनाथको यो पहिलो निर्णय हो ।
कांग्रेस र शिवसेनाले मिलेर सरकार चलाइरहेको राज्य महाराष्ट्रमा पनि फिल्मलाई कर छुट दिनुपर्ने माग बीजेपीले राखेको छ । बीजेपी सांसद राम कदमले राज्यमा कर छुट नगरिए हिन्दूवादीहरु सरकारविरुद्ध सडकमा उत्रिने चेतावनी दिएका छन् ।
कश्मीरमा मुस्लिम पृथकतावादीले सन् १९९० को दशकमा चलाएको कश्मीर पण्डित सफाया नामक हिंसामाथि बनेको फिल्मलाई लिएर अहिले भारतमा चर्चा छ ।


