माघ २८, काठमाडौं ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले कोरोना भाइरसविरुद्धको खोपको २४ लाख मात्रा नहराएको बताउनुभएको छ । मन्त्री भएको एक सय दिन पुगेको अवसरमा आज शुक्रवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले खोप हराएको नभइ तथ्याङ्क नआएको उल्लेख गर्नुभयो ।
‘खोपको २४ लाख मात्रा हराएको होइन, हामीले खोप लगाउनका लागि प्रदेश, जिल्ला, स्थानीय तह हुँदै टोलटोलमा स्वास्थ्यकर्मी खटाएका थियौँ’, मन्त्री खतिवडाले भन्नुभयो, ‘टोलटोलमा गएर लगाएको तथ्याङ्क नआएको मात्र हो ।’ उहाँले खोप लगाउँदा केही मात्रा खेर गएकाले पनि तथ्याङ्क नमिलेको बताउनुभयो ।
‘एउटा डब्बामा रहेको खोपको १० मध्ये आठ मात्रा लगाइयो र बाँकी दुई मात्रा खोप त्यही दिन लगाइएन भने त्यो खेर जान्छ’, उहाँले भन्नुभयो, ‘त्यसरी पनि खोपको मात्रा खेर गइरहेको छ ।’
हराएको खोपको सम्बन्धमा मन्त्रालयले प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको र चाँडै नै हराएको खोपका बारेमा जानकारी दिने मन्त्री खतिवडाको भनाइ थियो ।


