माघ ०७, चितवन ।कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण फैलँदै गएपछि भरतपुर अस्पतालले बिरामी कुरुवा पासको व्यवस्था गरेको छ ।
भरतपुर अस्पताल प्रशासनले आज एक सूचना जारी गर्दै एक बिरामीका लागि एक कुरुवा मात्र राख्नुपर्ने साविकको नियमलाई पालना गर्नका लागि बिरामी कुरुवा पासको व्यवस्था गरिएको जनाएको छ ।
Advertisement
अब बिना पासका व्यक्तिलाई अस्पतालको अन्तरङ्ग विभागमा प्रवेश गर्न नदिइने अस्पताल प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । यस्तै बिरामी कुरुवाले पनि जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न अस्पतालले आग्रह गरेको छ ।
अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरु कोभिडबाट संक्रमित भइरहेको बताउँदै अस्पताल प्रशासनले अस्पतालको सेवा प्रवाहमा समेत कठिनाइ भएको बताएको छ । अस्पताल आउनै पर्ने बाहेकका बिरामी अस्पतालमा नआउन आग्रह गरिएको छ ।


