पौष २५, काठमाडौं ।कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज आइतबार एक खेल हुँदैछ। लिगको आठौं चरण अन्तर्गत आइतबार एक मात्र खेल हुनेछ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा रुस्लान थ्री स्टार र नेपाल आइस हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ। थ्री स्टार र शेर्पाबीचको खेल पाैने ५ बजे सुरु हुनेछ।थ्री स्टार ७ खेलमा १० अंक जोडेर छैटौं स्थानमा रहेको छ। थ्री स्टार शेर्पालाई हराएर शीर्ष पाँचमा उक्लन चाहन्छ। थ्री स्टारका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले शेर्पाविरुद्ध ३ अंककै लागि खेल्ने बताए।
‘हामी ३ अंकको लागि खेल्छौं त्यहि अनुसार तयारी छ। यस अघि हामीले जित्यौं त्यसैले खेलाडीको मोरल हाइ छ। हामीले एउटा स्ट्राइकर थप गरेपछि खेल राम्रो भएको छ,’ उनले भने, ‘विपक्षी टिम राम्रो छ । उनीहरुले लगातार जितिरहेको छ गोल गरिरहेको छ। हाम्रो पनि राम्रो छ। राम्रो खेल हुन्छ जस्तो लागेको छ।’
शेर्पा ७ खेलमा ११ अंक जोडेर पाँचौं स्थानमा रहेको छ। थ्री स्टारलाई हराएर तेस्रो स्थानको संकटा र चौंथो स्थानमा रहेको आर्मीसँग अंक बराबरी गर्न चाहन्छ।पछिलो खेलमा शेर्पा निकै लयमा समेत देखिएको छ। तर, थ्री स्टारविरुद्ध शेर्पालाई सहज भने छैन।

