पौष १७, काठमाडौं ।आज नवौं राष्ट्रिय टोपी दिवस एवं राष्ट्रिय पोशाक दिवस मनाइँदैछ । नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर राष्ट्रिय टोपी दिवस मनाउने गरिएको छ । पुस १७ गते राष्ट्रिय पोशाक दिवस मनाउने गरिएको छ । यसवर्ष, टोपी दिवस र राष्ट्रिय पोसाक दिवस एकै दिन परेको छ ।पुस १७ गतेका दिन “मेरो शान,मेरो पहिचान, राष्ट्रिय पोसाक संरक्षण महाअभियान” भन्ने मूल नारा लिएर वि.सं. २०७० बाट काभ्रेपलान्चोक जिल्लाको बनेपाबाट सुरुवात गरिएको राष्ट्रिय पोसाक दिवस नेपालमा मात्र नभई विश्वभरि छरिएर रहेका नेपालीहरूले हरेक वर्ष पौष १७ गते भव्यताका साथ मनाउँदै आई रहेका छन् । यस्तै जंगबहादुर राणाकी बहिनी डम्बरकुरमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलोपटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाई छ ।
नेपाल बाहिर रहेका नेपाली र नेपालीभाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन् । नेपाली टोपीको साइनो बंगलादेशको ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ । विशेषतः भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ । तर नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन् । दिवसले नेपाली टोपीको पर्वद्धनमा सहयोग पुग्ने र देशभित्र पनि टोपी संस्कारले प्रोत्साहन पाउने विश्वास गरिएको छ ।
टोपी दिवसले नेपाली र नेपाली मुलका नागरिक भएका सबै देशमा नेपाली पनको निरन्तर खोजी तथा त्यसको संरक्षण र प्रर्वद्धन गर्ने विश्वस गरिएको छ । नेपाली टोपीको प्रवर्द्धन गर्ने उद्देश्यले अंग्रेजी नयाँ बर्षको पहिलो दिन पारेर सुरु गरिएको राष्ट्रिय टोपी दिवसले अहिले ब्यापकता पाएको छ । अंग्रेजी नयाँ बर्षसँगै राष्ट्रिय दिवस मनाउँने क्रम नेपाली युवायुवतीहरुमा ब्यापकरुपमा बृद्धि भएको पाइन्छ ।
Advertisement

