बाँकी रहेका समूहले आज दिउँसो १२ बजेसम्म छलफल गर्ने छन् । छलफलबाट आएका सुझावलाई समेटेर समूहको समन्वयकर्ता नेताहरुले आज १२ बजेपछि महाधिवेशन भइरहेको ठाउँ प्रज्ञा भवनमा निष्कर्ष सुनाउने माओवादी नेता हरिबोल गजुरेलले जानकारी दिनुभयो । छलफलको निष्कर्ष सुनाउन हरेक समन्वयकर्ताले १५ मिनेटको समय पाउने छन् । दिउँसो १ बजेदेखि समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम छ ।
प्रतिवेदन पारित भएपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ । यसैबीच, प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि नेता राम कार्कीले फरक मत राख्नु भएको छ । ‘केही पूरक, केही नवीन धारणाहरु’ शीर्षकमा नेता कार्कीले फरक प्रस्ताव राख्नुभएको हो । फरक मतमा उहाँले विभिन्न शीर्षकमा धारणा सार्वजनिक गर्नुभएको छ । अन्तर्राष्ट्रिय परिस्थिति, घरेलु परिस्थिति, आगामी कार्यभार, गणतन्त्र, सङ्घीयता, समावेशी प्रजातन्त्र, उन्नत गर्नैपर्ने वैचारिक सैद्धान्तिक प्रश्न, हाम्रो बाटो मूल बाटो, तत्काल गर्नुपर्ने काम लगायत शीर्षकमा कार्कीले धारणा सार्वजनिक गर्नुभएको छ ।

