मङ्सिर १३, चितवन । चितवन फिजिकल फिटनेस सेन्टर चितवन जिम हाउस शुभरम्भ भएको छ । जिम हाउसको बडी बिल्डर, १३ औं धर्मश्री बडी विल्डिङ बिजेता एवं एबीबीएफ तथा डब्लुबीपिएफ स्वर्ण पदक बिजेता महेश महर्जनले आज मंगलबार एक कार्यक्रमकाबीच उद्घाटन गरे । केन्द्रीय बस टर्मिनल पारस बसपार्कमा रहेको जिम हाउसलाई आज भरतपुर १० रिजाल चोकमा स्थानान्तरण गरिएको हो ।उद्घाटन कार्यक्रममा बोल्दै महर्जनले शरीरलाई श्वस्थ राख्नका लागि व्यायाम गर्नु आवश्यक रहेको बताए । उनले व्यायामका साथै खानपानमा पनि ध्यान दिनु पर्ने बताए । उनले चितवनमा फराकिलो, ठुलो क्षमताको जिम हाउस खुलेको भन्दै सफलताको कामना गरे ।
चितवन जिममा जिमसँगै जुम्बाका कक्षाहरु पनि सञ्चालन गरिएको छ । एक पटकमा दुई जनाले जिम गर्न सक्ने चितवन जिमका प्रवन्ध निर्देशक प्रकाश गुरुङले जानकारी दिए । यती ठूलो क्षमताको यो चितवनकै पहिलो र एक मात्र जिम हाउस हो । यस्तै ५० जनाको क्षमताको जुम्बा हल रहेको छ ।
दैनिक तीन जना प्रशिक्षकले जिमको प्रशिक्षण दिनेछन् । यस्तै दुई जना जुम्बा प्रशिक्षक रहेका छन् । जिमका लागि पाँच हजार रुपैयाँ आजीवन सदस्यता शुल्क तोकिएको छ । यस्तै मासिक शुल्क दुई हजार रुपैयाँ राखिएको चितवन फिटनेशका प्रमुख सल्लाहकार एवं कार्यक्रम संयोजक राकेशमान श्रेष्ठले जानकारी दिए । यस्तै जुम्बाका लागि भर्ना शुल्क एक हजार तथा मासिक शुल्क दुई हजार पाँच सय लाग्ने उनले बताए । शुभरम्भको अवसरमा आज भर्ना शुल्कमा ५० प्रतिशत छुट गरिएको छ ।

२०५१ सालमा स्थापना भएको चितवन जिमले भरतपुरको क्षेत्रपुर, रिजालचोक तथा नवलपुरको गैंडाकोट गरि तीन स्थानबाट सेवा दिइरहेको छ । चितवनकै पहिलो जिम हाउसको रुपमा नारायणगढबाट चितवन जिम हाउसले सेवा सुरु गरेको थियो ।
यसैबीच फिटनेश सेन्टरको उद्घाटनको अवसरमा रक्तदान कार्यक्रम पनि सम्पन्न भएको छ । फिटनेश सेन्टर पेरिसरमा नै भएको कार्यक्रममा ३० जनाले रक्तदान गरेको प्रमुख सल्लाहकार एवं कार्यक्रम संयोजक श्रेष्ठले जानकारी दिए । चितवनमा देखिएको रगत अभाव पूर्तिका लागि रक्तदान कार्यक्रम आयोजना गरिएको उनले बताए ।


