पुस १०, चितवन ।गुरुङ समुदायले पौष १५ गते तमु ल्होसार मनाउँदैछ । यस वर्ष गाई वर्गलाई बिदाई तथा बाघ वर्गलाई स्वागत गरिनेछ । ल्होसारको पूर्वसन्ध्यामा चितवनमा विविध कार्यक्रम आयोजना हुने भएको छ । तमु प्ये ल्हु संघ चितवनले ल्होसारको अवसरमा पौष १२ गते विविध कार्यक्रम आयोजना गर्ने भएको हो ।संघका अध्यक्ष लालप्रसाद म्रु तमुका अनुसार पौष १२ गते शुभकामना आदान प्रदान कार्यक्रम हुनेछ । सोही दिन विविध सांस्कृतिक कार्यक्रम समेत आयोजना हुनेछ । कार्यक्रम स्थानीय कलाकारहरुले प्रस्तुति दिनेछन् । यस्तै सोही दिन गुरुङ समुदायबीच चियापान कार्यक्रम समेत रहेको अध्यक्ष तमुले जानकारी दिए ।
नौरंगे क्होइवोमा हुने कार्यक्रममा बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री कृष्ण लाल भडेल प्रमुख अतिथिको रुपमा उपस्थित हुने उनले बताए । कार्यक्रम १ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ ।
Advertisement
यसैबीच तमु ल्होसारकै समयमा विद्यार्थीहरुको परीक्षा गर्न लागिएको भन्दै संघका निवर्तमान अध्यक्ष जगत बहादुर तु तमुले आपत्तै जनाएका छन्। “ल्होसारकै समयमा प्याप्सन चितवनले परीक्षा गर्न लागेको छ, उनले भने, हाम्रा नानी बाबुहरु परीक्षा दिन जाने कि पर्व मनाउने ?” यस्तै उनले तमु ल्होसारको विदा कटौतीको बिषयमा दबाबमुलक कार्यक्रमहरु भइरहेको समेत बताए ।

