मङ्सिर ०९, काठमाडौं । बेलायत र दक्षिण अफ्रिकामा गरिएको प्रारम्भिक अध्ययनमा कोरोनाको ‘ओमिक्रोन’ भेरियन्ट कम घातक रहेको पाइएको छ । सङ्क्रमणको लहर तुलनात्मक रूपमा मध्यम स्तरको मात्रै भएको अध्ययनमा देखिएको हो ।प्रारम्भिक नतिजाले अन्य भेरियन्टले सङ्क्रमण भएका व्यक्तिभन्दा ‘ओमिक्रोन’ भेरियन्टबाट सङ्क्रमण भएका ३० देखि ७० प्रतिशतसम्म कम मानिसहरू अस्पताल भर्ना हुनुपर्ने देखाएको बीबीसीले उल्लेख गरेको छ ।
तर ‘ओमिक्रोन’ सङ्क्रमित थोरै मात्रै अस्पताल पुगे पनि यसले धेरै मानिसलाई चाँडो सङ्क्रमित गर्न सक्नेबारे चिन्ता व्यक्त गरिएको छ । पब्लिक हेल्थ स्कटल्यान्डका कोभिड–१९ निर्देशक डा. जीम म्याकमेनानिनले यो एउटा सुखद समाचार भएको बताउनुभएको छ ।
Advertisement
दक्षिण अफ्रिकामा गरिएको अर्को अध्ययनले पनि ‘ओमिक्रोन’को लहर कम खतराको भएको देखाएको छ । ‘ओमिक्रोन’ कम घातक हुनुका कारण यसको बनोट र खोप वा सङ्क्रमणका कारण मानव शरीरमा बनेको प्रतिरोधी क्षमतालाई मानिएको छ । तर स्वास्थ्यका मापदण्ड पालनामा लापर्बाही गर्न नहुनेमा विज्ञले जोड दिएका छन् ।

