प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा कोरोना संक्रमणका कारण सोमबारदेखि सशस्त्र प्रहरी बलको बलम्बुस्थित अस्पतालमा भर्ना भएर उपचाररत छन् । संविधानको धारा १२९ को उपधारा ६ मा कायममुकाम प्रधानन्यायाधीशको व्यवस्था छ । जसमा, ‘कुनै कारणले प्रधानन्यायाधीश आफ्नो पदको काम गर्न असमर्थ भएमा सर्वोच्च अदालतको वरिष्ठतम न्यायाधीशले कायममुकायम प्रधान न्यायाधीश भई काम गर्नेछ’ भन्ने व्यवस्था छ ।
बार अध्यक्ष श्रेष्ठ अहिलेको अवस्थामा प्रधानन्यायाधीश विदा बसेको घोषणा गर्न आवश्यक नै नभएको बताउँछन् । ‘प्रधानन्यायाधीशज्यू आफ्नो काम गर्न असमर्थ हुनुहुन्छ । उहाँ अस्पतालमा भएकाले न अदालतका कर्मचारी भेट्न मिल्छ, न अदालतमा आउन सक्नुहुन्छ,’ श्रेष्ठले भने, ‘संविधानमा प्रधानन्यायाधीशले काम गर्न असमर्थ भएमा स्वतः वरिष्ठतम न्यायाधीश कामू प्रधानन्यायाधीश हुने व्यवस्था छ । हामीले त्यसको कार्यान्वयन हुनुपर्छ भनेका हौं ।’
प्रधानन्यायाधीश जबरा कोरोना संक्रमणका कारण अस्पताल भर्ना भएको तर भोलिपल्ट मंगलबार इजलास तोकेकोमा कानून व्यवसायीहरुले प्रश्न उठाएका थिए । त्यसमाथि बुधबार समेत उनी विदामा नबसेपछि दुवै बारका प्रतिनिधिहरु सबै इजलासमा पुगेर ध्यानाकर्षण गराएका हुन् । बार अध्यक्ष श्रेष्ठले भने, ‘प्रधानन्यायाधीशज्यू आइसोलेसनमा हुनुहुन्छ, उहाँले कागजात छुने र हस्ताक्षर गर्न मिल्दैन । यस्तो अवस्थामा किन उहाँ विदामा हुनुहुन्न र रिष्ठतम न्यायाधीशले कामूको भूमिका पाउनुभएको छैन भनी प्रश्न उठेको हो ।’
बारका पदाधिकारीहरुले प्रश्न उठाएपछि सर्वोच्च अदालतका १८ जना न्यायाधीशहरु नै छलफलमा जुटे ।
छलफलका क्रममा केही न्यायाधीशले अब पनि यो वा त्यो बाहनामा इजलास अवरुद्ध गर्न नहुने धारणा राखेका थिए । केहीले भने बारका पदाधिकारीहरुले नै अनुरोध गरेपछि आफूहरुले जबर्जस्ती रुपमा सुनुवाइ गर्न नसक्ने धारणा राखेका थिए । यद्यपि गोलाप्रथा अस्वीकार गरेको सन्देश जान नहुनेमा सबै सतर्क थिए ।
इजलास–इजलासमा पुगेका बारका पदाधिकारीहरुले पनि गोला प्रक्रियामा कुनै असहमति नभएपनि न्यायपालिकाको नेतृत्वको अन्यौलता हट्नुपर्ने धारणा राखेका थिए । बार अध्यक्ष श्रेष्ठले न्यायपालिका केही क्षणका लागि पनि नेतृत्वविहीन हुन नसक्ने भन्दै तत्काल कामू प्रधानन्यायाधीशको व्यवस्था हुनुपर्ने माग गरे । उनले भने, ‘न्यायप्रशासनको जिम्मेवारी लिने मान्छे नभएको अवस्थामा हामी कसरी इजलासमा पुगेर बहस गर्न सक्छौं र ?’
ती न्यायाधीशका अनुसार, सबै न्यायाधीशहरुको छलफलले प्रधानन्यााधीश जबराको ‘अफिसियल स्टाटस’का वारेमा बुझ्न मुख्यरजिष्ट्रारलाई खटाउने निर्णय गरेको छ । मुख्यरजिष्ट्रार लालबहादुर कुँवरले प्रधानन्यायाधीश जबरासँग सम्पर्क गरेर उनी काम गर्न समर्थ भए/नभएको तथा बिदामा बसे/नबसेको निक्यौल गर्न भनेका छन् । साथै सबै न्यायाधीशहरुले उनी विदा बसे हुने भन्ने अप्रत्यक्ष सन्देश पनि प्रवाह गरेका छन् ।
अर्कोतर्फ बारका पदाधिकारीहरुले चासो देखाएपछि सर्वोच्च अदालतका न्यायाधीशहरुले बिहीबार बारका पदाधिकारीहरुसँग छलफल गर्ने योजना बनाएका छन् । न्यायाधीशहरुले त्यसका लागि बिहीबार विहान १० बजेको समय तय गरेका छन् । ‘त्यतिबेलासम्म मुख्यरजिष्ट्रारज्यूले प्रधानन्यायाधीशज्यूको धारणा ल्याउनुहुन्छ । हामी पनि बारका पदाधिकारीसँग छलफल गर्छौं’ ती न्यायाधीशले भने, ‘छलफलपछि नियमित रुपमा इजलास सञ्चालन होला भन्ने अपेक्षा छ ।’

