मङ्सिर ०६, काठमाडौं । आईसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपाली महिला क्रिकेट टोलीले आज हङकङको सामना गर्दैछ।
दुबईको आईसीसी क्रिकेट एकेडेमीमा नेपालले हङकङको सामना गर्नेछ। नेपाल र हङकङबीचको खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ।
नेपाल आज पहिलो खेलमा जित निकाल्दै सुखद सुरुआत गर्न चाहन्छ। तर, हङकङविरुद्ध नेपाललाई जित निकाल्न सहज हुनेछैन। हङकङ पनि नेपाललाई स्तब्ध बनाउने योजनामा हुनेछ।
पछिल्लो पटक नेपालले २०१९ मा हङकङसँग प्रतिस्पर्धा गरेको थियो। विश्वकप छनोट अन्तर्गत नै बैककमा भएको खेलमा नेपालले हङकङलाई ४ विकेटले हराएको थियो।
छनोटमा ६ टिम सहभागी छन्। छनोटको विजेता टिमले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन्। छनोट अन्तर्गत नै नेपालले दोस्रो खेल भुटानविरुद्ध मंगलबार खेल्ने तालिका रहेको छ। त्यसैगरी नेपालको तेस्रो खेल कुवेतविरुद्ध बिहीबार प्रतिस्पर्धा गर्नेछ।
नेपालले आफ्नो चौथो खेल मलेसियासँग शुक्रबार तथा पाँचौ खेल आगामी आइतबार युएईविरुद्ध खेल्नेछ।

