मङ्सिर ०५, काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज आइतबार दुई खेलहरु हुँदैछन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो ब्रिगेड ब्वाइज क्लब र एपीएफ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ। ब्रिगेड र एपीएफबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ।
आज दुबै टिम जित निकाल्दै सिजनको सुखद सुरुआत गर्ने योजनामा रहेका छन्। ब्रिगेड राष्ट्रिय टिमका पूर्व कप्तान समेत रहेका फरवार्ड अनिल गुरुङको कप्तानीमा मैदान उत्रनेछ। एपीएफको कप्तानी भने टोप बहादुर विष्टले गर्ने छन्।
यस्तै दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ। मनाङ र जावलाखेलबीचको खेल पाैने ५ बजे सुरु हुनेछ।
उपाधि दाबेदार मनाङ जावलाखेललाई हराएर सुखद सुरुआत गर्ने योजनामा हुनेछ। कीर्तिमानी आठ पटकको च्याम्पियन मनाङ अन्जन विष्टको कप्तानीमा मैदान उत्रनेछ।
शीर्ष चारको लक्ष्य लिएको जावलाखेल समेत जित निकाल्दै सिजनको सुखद सुरुआत गर्न चाहन्छ। तर, मनाङलाई हराउँन कुलदिप कार्कीको कप्तानीमा रहेको जावलाखेललाई सहज हुनेछैन।
लिगमा ‘ए’ डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन्। यस पटकको लिगको पुछारका दुई टिम रेलिगेसनमा पर्दै ‘बी’ डिभिजनमा झर्ने छन्।

