असोज १२, काठमाण्डाै । लामो समयदेखि कमलपित्त रोगबाट पीडित नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुनलाई थप उपचारका लागि भाेलि बुधवार थाइल्यान्ड लगिने भएको छ ।
पछिल्ला केही दिनदेखि उहाँको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि बैंकक लैजान लागिएको हो । नेता पुनलाई कमलपित्तको मात्रा बढेको, वान्ता हुने र ज्वरो आउने जस्ता समस्या देखिएपछि ललितपुरमा रहेकाे सुमेरु अस्पतालमा उपचार गरिएको थियो । कमलपित्तको मात्रा नघटेकाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै नेता पुनको थप उपचारका लागि आवश्यक कदम चाल्न सुझाव दिनुभएको थियो ।
नेता पुनका स्वकीय सचिव सन्तोष पुनले अध्यक्ष प्रचण्डलगायतका नेताहरूको सल्लाहपछि थप उपचारका लागि उहाँलाई थाइल्यान्डकाे बु्रमुङगार्ड अस्पताल लैजाने तयारी गरिएको छ ।
उपचारमा संलग्न चिकित्सकका अनुसार नेता पुनलाई वंशानुगत रूपमा सङ्क्रमण भएको कमलपित्तले दुःख दिने गरेको छ । पूर्व अर्थ तथा ऊर्जा मन्त्रीसमेत रहनुभएका नेता पुनले भाेलि बिहानै श्रीमती तथा पूर्वसभामुख ओनसरी घर्तीका साथ बैंकक जाने तयारी गर्नुभएको छ ।

