असोज १२, काठमान्डौ । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा सनराईजर्स हैदराबादले राजस्थान रोयल्सलाई हराएको छ।
दुबईमा सोमबार राति भएको खेलमा हैदराबादले राजस्थानलाई ७ विकेटले हराएको हो। राजस्थानले दिएको १ सय ६५ रनको लक्ष्य हैदराबादले १८ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्यो।
हैदराबादको जितमा डेब्यु खेलाडी जासन रोयले ६० रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै कप्तान केन विलियम्सनले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ्स खेले।
अविशेक शर्मा २१ रनमा अविजित रहदा रिद्दिमान साह १८ रनमा आउट भए। राजस्थानका मुस्ताफिजुर रहमान, चेतन शाकरिया र महिपाल लोम्रोरले एक एक विकेट लिए।
यस अघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो। राजस्थानका लागि कप्तान सन्जु सामसनले ८२ रनको अर्धशतकीय इनिङ्स खेले। याशभी जैसवालले ३६ रन जोड्दा महिपाल लोम्रोरले अविजित २९ रन बनाए।
हैदराबादका सिद्दार्थ कउलले दुई विकेट लिए। यस जितसँगै हैदराबादले लिगमा दोस्रो जित निकालेको छ। हैदराबादले १० खेलमा ४ अंक जोडेको छ। हैदराबाद पुछारमा रहेको छ। राजस्थान १० खेलमा ८ अंक जोडेर छैटौं स्थानमा रहेको छ।

