असोज ०८, चितवन । काठमाडौंबाट पोखरा जाँदै गरेको कार पृथ्वी राजमार्गको मुग्लिन नजिकै नाग्दि खोलामा गएराति साढे १२ बजे दुर्घटना हुँदा तीनजना बेपत्ता भएका छन् भने एक जनाको घाइते अवस्थामा उद्धार गरिएको छ। कार त्रिशुली नदीमा खसेर दुर्घटनाग्रस्त भएको ट्राफिक प्रहरी कार्यालय मुग्लिनका असई नरहरि अधिकारीले जानकारी दिए। प्रहरीका अनुसार काठमाडौंबाट पोखरा जाँदै गरेको ना २ च ४९१८ नम्बरको कार अनियन्त्रित भई सडकबाट झण्डै १०० मिटर तल त्रिशुली नदीमा खसेको हो। घटनामा उद्धार गरिएका पोखराका ४९ वर्षीय रुद्रलाल सुवेदीको उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरमा ल्याईएको छ । दुर्घटनामा बेपत्ता भएकाहरूमा पोखरा महानगरपालिका वडा नं ७ कै अन्दाजी ५५/६० वर्षिय प्रेम भुजेल, ५५/६० वर्षीय लेखबहादुर भुजेल र ३६ वर्षिया ईश्वी भुजेल रहेको ट्राफिक प्रहरीले जनाएको छ।
Advertisement

