काठमाडौं । कांग्रेस क्रियाशील सदस्यता विवादका कारण देशभर १ सय २१ वटा वडामा स्थगित गरिएको छ । महाधिवेशनका लागि तल्लो तहका तथा सबैभन्दा महत्वपूर्ण मतदाताका रूपमा रहने क्रियाशील सदस्यता विषयमा छानबिन समितिले बुझाएको प्रतिवेदनअनुसार देशभर १ सय २१ वडाको सदस्यता स्थगित गरिएको छ । यी वडाबाट आएका पुराना सदस्यतामात्र सदर गरी समितिले नयाँलाई १४औं महाधिवेशनपछि प्रक्रिया पु¥याएर कायम गर्नेगरी स्थगित गरेको हो ।
कांग्रेस क्रियाशील सदस्यता छानबिन समिति सदस्य तथा प्रवक्ता प्रदीप पौडेलले सयभन्दा बढी वडामा स्थगित गरिएको र ती सदस्यताको हकमा १४औं महाधिवेशनपछि निर्णय हुने जानकारी दिए । प्रतिवेदनअनुसार सुनसरी क्षेत्र ४ अन्तर्गत भोक्राहा गाउँपालिकाका ८ वटा वडाको सदस्यता स्थगित गरिएको छ । कोशी गाउँपालिका १, बराह क्षेत्र नगरपालिका ११ को पनि सदस्यता स्थगित गरिएको छ । यसैगरी महोत्तरी मनहरा सिसुवा नगरपालिका ८ र १०, सर्लाही बहरथहवा नगरपालिका ११, रौतहट देवाही गोनाही नगरपालिका ६, माधवनारायण नगरपालिका १,२ र ३, दुर्गा भगवती गाउँपालिका ४, यमुनामाई गाउँपालिका २ र ५, राजदेशी गाउँपालिकाको सदस्यता स्थगित भएको छ ।

