असार ९,
चितवन। जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञालाई खुकुलो बनाउदै एक सातालाई थप बनाएको छ । जिल्ला प्रशासन कार्यालयले जारी निषेधाज्ञा असार १७ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।
प्रशासनको अनुसार असार ११ गतेदेखि इलेक्ट्रिकल तथा इलेक्ट्रिोनिक्स पसल, भाँडा पसल, फेन्सी पसल, कम्प्युटर पसल, कस्मेटिक तथा गिफ्ट पसल, सुनचाँदी पसल, फर्निचर तथा फर्निसिङ पसल संचालनमा गर्न पाइने छ । यस्तै अटोमोबाइल, मोटरपार्टस्, जुत्ता/चप्पल पसल, टेलरिङ, प्रेस तथा फोटोकपी पसलहरु संचालन गर्न पाइने छ ।यी सबै पसलहरु साताका तीन दिन आइतबार, मंगलबार र बिहीबार गरी दिउँसो १२ बजेदेखि अपरान्ह ४ बजेसम्म संचालन गर्न पाइने छ।
त्यस्तै चितवनमा १० गते राति १२ बजेदेखि निजी सवारी साधनमा जोर बिजोर लागु हुनेछ । जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरको निजी सवारी साधन मात्र चल्न पाउने छ । निजी सवारीले सिट क्षमताको ५० प्रतिशत मात्र प्रयोग गर्न पाउने प्रशासनले जनाएको छ ।

