कार्तिक २३, काठमाडौं । स्पेनिस फुटबल क्लब बार्सिलोनाले जाभी हर्नान्डेजलाई हजारौ दर्शकमाझ नयाँ मुख्य प्रशिक्षकको रुपमा सार्वजनिक गरेको छ।
नोउ क्याम्पमा सोमबार बार्सिलोनाले मैदानमा उपस्थित हजारौ समर्थकमाझ जाभीलाई प्रस्तुत गरेको हो। ४१ वर्षीय जाभीले बार्सिलोनासँग सन् २०२४ सम्मका लागि सम्झौता हस्ताक्षर गरेका छन्।
मैदानमा जाभी क्लबका अध्यक्ष जोआन लापोर्तासँगै देखिएका थिए। जाभीले कतारी क्लब अल–साद छाडेर बार्सिलोना आएका हुन्। जाभीले खेलाडीको रुपमा बार्सिलोनाका लागि १७ वर्ष खेलेका थिए।
सन् २०१५ मा बार्सिलोना छाडेका जाभीले क्लबलाई आठ पटक स्पेनिस ला लिगा तथा चार पटक च्याम्पियन्स लिगको उपाधि जिताएका थिए।उनले स्पेनलाई सन् २०१० मा विश्वकपको उपाधि दिलाउनुका साथै दुई पटक युरोपियन च्याम्पियनसिप समेत जिताएका थिए।
जाभी विगत दुई वर्षदेखि मध्य–पूर्वमा आफ्नो प्रशिक्षणको कला निखार्दै आएका थिए।

