कार्तिक ०४, काठमाडौँ । श्रीलंका आइसिसी टि२० विश्वकप २०२१ को सुपर १२ मा प्रवेश गरेको छ । पहिलो चरणअन्तर्गत बुधबार भएको समूह ए को खेलमा आयरल्याण्डलाई ७० रनले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको श्रीलंका सुपर १२ मा पुग्ने पहिलो टोली बनेको हो । जितको लागि १ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्ड १८.३ ओभरमा १ सय १ रनमै अल आउट भएको थियो ।
आयरल्यान्डका कप्तान एन्डी बालबर्नीले सर्वाधिक ४१ रन र कर्टिस क्याम्फरले २४ रन बनाउनुबाहेक अन्य खेलाडी चम्किन सकेनन् । आयरल्यान्डलाई सस्तैमा समेट्न श्रीलंकाका स्पिनर महेश थक्शेनाले ३ विकेट लिए । चामिका करुणारत्ने र लाहिरु कुमाराले २–२ विकेट लिए भने वानिन्दु हसरंगा र दुश्मन्था चामिरा नाममा १–१ विकेट रह्यो । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले सात विकेट गुमाएर १७१ रन बनाएको थियो ।
सुपर १२ को समूह ए मा अष्ट्रेलिया, इंग्ल्यान्ड, वेस्टइन्डिज, दक्षिण अफ्रिका, पहिलो चरणको समूह ए को विजेता र समूह बी को उपविजेता रहनेछन् । समूह बी मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, समूह बी को विजेता र समूह ए को उपविजेता रहने छन् ।

