वीरगन्ज । बडादसैँ, तिहार, छठलगायतका विविध चाडपर्वलाई लक्ष्य गरी पर्सा प्रहरीले विशेष सुरक्षा योजना अघि बढाउन लागेको छ।
चाडपर्वका बेला हुनसक्ने सम्भावित आपराधिक क्रियाकलाप र सुरक्षा जोखिमलाई मध्यनजर गर्दै विशेष सुरक्षा योजना अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिनु भयो ।
प्रहरीले यतिबेला सम्भावित सुरक्षा दबाब तथा जोखिमलाई मध्यनजर गरी अख्तियार गरिने सुरक्षा रणनीति तथा प्रहरी कारबाही, ड्युटी परिचालनदेखि ट्राफिक व्यवस्थापनसम्मको योजना सुरु गरेको हो ।
आवश्यकताअनुसार प्रहरी जाँचलाई बढाइएको छ । प्रहरी परिचालन र सक्रियतालाई अधिकतम वृद्धि गरी अपराधजन्य घटना हुने स्थान र आपराधिक व्यक्तिका हर्कतउपर निरन्तर निगरानी जारी राखेको छ ।
त्यसअनुसार वीरगन्ज महानगरपालिकाको मुख्य बजार माईस्थान रोड, आदर्शनगर, घण्टाघर, बसपार्कलगायतका स्थानमा रहेको स्थायी बजारलाई अव्यवस्थित हुन नदिन चौबीसै घण्टा जुनियर प्रहरी अधिकृतको कमान्डमा ड्युटी खटाइएको हो ।
दसैँ–तिहारलाई लक्ष्य गरी सर्वसाधारणले लत्ता कपडा, खाद्य वस्तुलगायत विभिन्न सामग्री ठुलो मात्रामा खरिद बिक्री हुने हुनाले बजार क्षेत्रमा सम्बन्धित प्रहरी एकाइबाट आवश्यकताअनुसार सादा पोसाक, मोबाइल, पैदल गस्ती तथा पिकेट डियुटी समेत खटाइएको छ ।
जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी कालोबजारी नियन्त्रण तथा बजार अनुगमन गर्न अनुगमन टोली पठाइने छ । भीडभाडको मौका छोपी हुनसक्ने स्न्याचिङ र बैङ्क तथा वित्तीय संस्थामा हुनसक्ने लुटपाटलाई नियमन तथा नियन्त्रण गर्न सादा पोसाकका प्रहरी खटाईने बुझिएको छ ।
यसैगरी बैङ्क तथा वित्तीय संस्थामा तथा रकम भुक्तानी लिई आउने सेवाग्राहीलाई पिछा गरी लुटपाट, चोरी तथा ठगी हुनसक्ने सम्भावनालाई ध्यान दिई सचेत हुन आग्रह गर्ने, बैङ्क तथा वित्तीय संस्था भएका स्थानमा निरन्तर निगरानीमा राख्नाका साथै त्यस्ता स्थानमा प्रहरी गस्ती बढाइएको छ ।
प्रहरी नायब निरीक्षकको कमान्डमा सिसीटिभीजडित बजार तथा क्षेत्रका गतिविधि जिल्लास्थित सिसिटिभी कक्षबाट तथा स्मार्ट कन्ट्रोलिङ्ग बाट निरन्तर अवलोकन गरिएको छ भने कुनै पनि घटना घटाई भाग्न सक्ने अवस्थालाई मध्यनजर गरी मूलबजार ९घण्टाघर, माईस्थान, आदर्शनगरमा प्रहरी तीन टोली खटाइएको देखिन्छ ।
सुरक्षित वीरगन्ज अन्तर्गत रहेका सिसिटिभीबाहेक अन्य व्यवसायी तथा सङ्घसंस्थाले राखेका सिसिटिभीको समेत अभिलेख तयार गरी आवश्यकताअनुसार घटनाको अनुसन्धान गर्ने योजना बनाइएको ढुङ्गेलले जानकारी दिनु भएको छ ।
यात्रुसँग तोकिएभन्दा बढी भाडा असुल गर्ने, क्षमताभन्दा बढी यात्रु चढाउने सवारी चालक, सहचालक तथा टिकट काउन्टरलाई कारबाही गर्ने प्रहरीले जनाएको छ ।
चाडपर्वमा हुने हर्ष उल्लासको माहोल, भीडभाड तथा साविकभन्दा बढी हुने आर्थिक कारोबारको फाइदा उठाउँदै चोरी, लुटपाट, पाकेटमारीजस्ता घटना घटाउने अपराधीसमेत सीमापारिबाट नेपाल आउन सक्ने हुनाले सीमावर्ती प्रहरी एकाइले भारतीय प्रहरीसँग समन्वय गरी त्यस्ता व्यक्तिको पहिचान गर्नाका साथै निरन्तर जाँच गर्ने तथा शङ्कास्पद व्यक्तिलाई प्रवेश गर्न नदिने व्यवस्था मिलाएको छ ।
भारतबाट आउने नेपाली यात्रुलाई सीमामा अनावश्यक दुःख नहोस् भन्ने हेतुले भारतीय सुरक्षाकर्मी र सरोकारवाला पक्षसँग उचित समन्वय गरी अनुकूल वातावरण सिर्जना गरेको एसपी ढुङ्गेल बताउनु हुन्छ।
यसैगरी अवैध मदिरा भट्टी नष्ट गर्ने, जुवातास, कौडा, झण्डीबुर्जा (खडखडे) हुन नदिने र हुने स्थानमा छापामारी गर्ने शान्ति सुरक्षामा खलल पुग्ने तथा सुरक्षा जोखिम बढाउने कुनै पनि कानुन विपरीत कार्यमा संलग्नलाई कडाइका साथ कारबाही गरिने प्रहरीले जनाएको छ ।


