भरतपुर – भरतपुर २ क्षेत्रपुरमा रहेको एपेक्स एकेडेमीमा विज्ञान तथा व्यवस्थापन अध्ययनरत विद्यार्थीहरुले आज साउनको सोमबार पारेर चितवनको पवित्र धार्मिकस्थल देवघाट भ्रमण गरेका छन्। विद्यार्थीहरुले धर्म, दर्शन र विज्ञान विषयका सन्दर्भमा ज्ञान प्राप्त गर्ने उद्येश्यले हरिहर क्षेत्रको रुपमा परिचित देवघाटधामको क्षेत्रगत अध्ययन भ्रमण गरेका हुन्।
एपेक्स एकेडेमीका विद्यार्थीहरुले देवघाटधामका विभिन्न स्थान, हरिहर भवनका गुरु डा. विमालानन्द स्वामी ज्युको प्रवचन, गलेश्वर मन्दिर अवलोकन, कालीगण्डकी र डिभुलिको समीकरण स्थल गई यस सम्बन्धमा त्यहाँका धर्मगुरुहरुसंग साक्षात्कार समेत गरी ज्ञान आर्जन गरेका छन्।
आज साउन महिनाको सोमवार पनि परेकाले विशेष गरी सोमवारका दिन शिव मन्दिरमा शिवलिङ्गमा जल चढाउने गरिन्छ। हिन्दू धर्मावलम्बीहरू साउनमासको सोमवारका दिन भारतको वैजनाथ ज्योतिर्लिङ्गमा विशेष रूपले जल अर्पण गर्न जाने गर्दछन। त्यहाँ जान नसक्ने मान्छेहरू आआफ्ना ठाउँका शिव मन्दिरमा, देवघाटमा स्नान गरी त्याहाँको जल ल्याई चढाउने प्रचलन समेत बढ्दै गएको पाइन्छ।
त्यसैले धर्म संस्कृतिलाई नजिकबाट नियाल्न र विशेष साउन महिनाको ज्ञान लिने हेतुले एपेक्स एकेडेमीका विद्यार्थीहरुलाई देवघाटधाम अवलोकन गराइएको कलेजका विज्ञान संयोजक तुलसीराम न्यौपाने जानकारी दिनु भयो।

