बागलुङ ।
अविरल वर्षका कारण पहिरोले बागलुङमा प्रहरी चौकी पुरिएको छ ।
दुई दिनदेखि निरन्तर परेको वर्षका कारण चौकी माथिदेखि पहिरो खस्दा प्रहरी चौकी पञ्चकोटको भवन पुरिएको हो ।
पहिरोले बागलुङ नगरपालिका–६ सर्वसिद्धिधाम पञ्चकोट जाने बाटोमा बनाइएको सिढी र पर्खाल भत्किदा प्रहरी चौकीको भवन पुरिएको हो ।
मानवीय क्षति नभए पनि चार कोठे भवनको तीन वटा कोठाहरु पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए ।
पञ्चकोट क्षेत्रको सुरक्षाका लागि मन्दिर व्यवस्थापनले प्रहरी चौकी निर्माण गरि दिएको उक्त भवन पहिरोले भत्किएपछि प्रहरीलाई अन्तै सार्ने तयारी गरेको उनको भनाइ छ ।
पहिरोले मोटरसाइकलसहित कार्यालयमा रहेको कागजातहरु बगाएको प्रहरी उपरीक्षक कँडेलले बताए ।
अहिले जिल्ला प्रहरी कार्यालय बागलुङबाट १० जना र गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट १४ जना गरि २४ जनाको टोली घटनास्थल पुगेर उद्धार कार्य थालिएको उनको भनाइ छ ।
प्रहरी चौकीमा पाँच जना प्रहरी जवान बस्दै आएको उनी बताउँछन् ।
पहिरोले पञ्चकोटमा निर्मित मन्दिरसहित अन्य संरचनामा समेत क्षति पु¥याएको छ ।
यहाँ बस्दै आएका प्रहरीलाई गण्डकी सभाहलमा व्यवस्थापन गरिएको छ ।


