चितवन, २४ चैत । चितवनको भरतपुरमा राइजिङ क्रिकेट बिष्ट (आरसिबी) क्रिकेट एकेडेमी सञ्चालनमा आएको छ । भरतपुर ९ हाकिमचोकस्थित आरसिबी क्रिकेट एकेडेमीको आज एक कार्यक्रमकाबीच उद्घाटन गरिएको हो ।
एकेडेमीको उद्घाटन गर्दै क्रिकेट संघ चितवनका अध्यक्ष सुदीप पियाले जिल्लामा यस किसिमको एकेडेमीको आवश्यकता रहेको औंल्याए । उनले यसले चितवनको क्रिकेट बिकासमा सहयोग गर्ने विश्वास व्यक्त गरे ।
सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङका प्रिन्सिपल यज्ञविलास पौडेल (वाईबी) ले नेपालले क्रिकेटमा फड्को मारिरहेको अवस्थामा ग्रासरुट बिकासका लागि एकेडेमी आवश्यक रहेको बताए । क्रिकेटले नेपाललाई विश्वमाझ चिनाएको भन्दै यस एकेडेमीबाट पनि राम्रो खेलाडी उत्पादन हुने उनको विश्वास थियो । सेन्ट्रल कलेजले बिभिन्न खेलकुद गतिविधिमा सहयोग र सहकार्य गर्दै आइरहेको भन्दै यस एकेडेमीसँग पनि सहकार्य गर्न तयार रहेको बताए ।
एकेडेमीकी सञ्चालक नीता खड्काका अनुसार पाँच कट्ठा जग्गा भाडामा लिएर एकेडेमी सञ्चालन गरिएको बताईन् । उनले चितवनमा एकेडेमीको आवश्यकता महसुस गरेर नै यसमा लगानी गरिएको उनको भनाइ थियो । अभ्याससँगै गौतमवुद्ध अन्तराष्ट्रिय क्रिकेट मैदानमा खेलहरु पनि खेलाइने उनले बताईन् ।
एकेडेमीमा तीन सेसनमा अभ्यास चल्नेछ । जस अनुसार बिहान ७ देखि ९, दिउँसो ३-५ र बेलुकी ५-७ का छुट्टा छुट्टै सेसन रहनेछ । प्रशिक्षकद्धय दीपेश श्रेष्ठ र गौतम केसीले खेलाडीहरुलाई प्रशिक्षण दिनेछन् । रातिको समयमा अभ्यासका लागि फ्लड लाइट पनि जडान गरिएको छ ।
प्रशिक्षण लिन चाहनेहरुका लागि फारम खुला गरिएको एकेडेमीका मार्केटिङ म्यानेजर राजन पाण्डेले बताए । दिउँसोको समयमा आएर खेलाडीहरुले स्वअभ्यास पनि गर्न सक्ने पाण्डेले जानकारी दिए ।

