चितवन।
चितवन र नवलपरासीको गैंडाकोट जोड्ने नारायणी नदीमा नेपालकै पहिलो ‘सिग्नेचर ब्रिज’ बनाउन ठेक्का आह्वान भएको छ। सडक विभागको पुल शाखाले डिजाइन एण्ड बिल्डको मोडलमा सिग्नेचर पुल बनाउने गरी आज ठेक्का आह्वान गरेको हो।
Advertisement
बहुप्रतिक्षित सिग्नेचर पुल निर्माणको लागि ठेक्का आह्वान भएपछि भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले बधाई दिएकी छन्। कर्णाली चिसापानीमा निर्माण गरिएभन्दा अझै अत्याधुनिक प्रविधि प्रयोग गरेर नारायणी नदीमा आकर्षक एवं कलात्मक पुल निर्माण गर्न लागिएको हो।
५ सय मिटर लामो हुने उक्त पुल पर्यटकीय रुपमा समेत आकर्षक बनाउने तयारी छ। हाल सञ्चालनमा रहेको चितवन–नवलपरासी जोड्ने पुल ४ सय ६० मिटर लामो छ। २०३८ सालमा नारायणी नदीमा निर्माण भएको अहिलेको पुलको आयु ७० वर्ष तोकिएको थियो। नारायणी नदीको पुल निकै पुरानो भइसकेको छ।

