चितवन, ४ भदौ । चितवनको भरतपुर अस्पतालले बीमा कार्यक्रम लागू भएयता रु एक अर्ब ८८ करोड ९६ लाख ७८ हजार एक सय ५८ प्राप्त गरेको छ । यो अवधिमा बिमितले १० लाख ३५ हजार एक सय १५ पटक सेवा पाएका छन् । सेवा दिएबापत अस्पतालले बीमा बोर्डबाट सो रकम प्राप्त गरेको हो । अस्पतालको स्वास्थ्य बीमा कार्यक्रमका इञ्चार्ज लीलाधर पौडेलका अनुसार विसं २०७४ भदौ १ गतेदेखि भरतपुर अस्पतालमा बीमा कार्यक्रम लागू भएको हो ।
पहिलो वर्ष ३२ हजार छ सय दुई पटक सेवा दिइएको थियो । त्यसवापत अस्पतालले बीमा बोर्डबाट रु एक करोड २८ लाख ९२ हजार दुई सय २० प्राप्त गरेको थियो । आर्थिक वर्ष २०७५/७६ मा एक लाख १२ हजार नौ सय ९१ पटक सेवा दिएबापत अस्पतालले रु १४ करोड ५७ लाख २८ हजार दुई सय २२ प्राप्त गरेको थियो । इञ्चार्ज पौडेलका अनुसार आव २०७६/७७ मा एक लाख १४ हजार आठ सय ५२ पटक सेवा दिएर रु २३ करोड ८८ लाख चार सय ५० प्राप्त गरेको थियो । आव २०७७/७८ मा कोभिडका कारण सेवा लिनेको सङ्ख्या घटेर ८५ हजार पाँच सय ३६ पटक मात्रै सेवा लिएका छन् । त्यसबापत अस्पतालले रु नौ करोड ७२ लाख ५२ हजार एक सय ८१ प्राप्त गरेको थियो ।

