चितवन । गैंडाकोट नगरपालिका–७ गैरीस्थित नारायणी नदीको टापुमा हिजो भेटिएका दुई वटै शव सिमतलात घटनाका यात्रुको भएको पुष्टि भएको छ ।
हिजो भेटिएको मध्ये एउटा शव चितवनको माडी नगरपालिका–१ बस्ने २२ वर्षीय विकास परियारको भएको पुष्टि भएको छ । मृतकका दाई विजय परियारले शवको सनाखत गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।
वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल बसमा उनी भरतपुरबाट चढेका थिए । उक्त बस सिमलताल पहिरोमा परेको थियो । पहिरोसँगै त्रिशूली नदीमा खसेको बस अझै पनि बेपत्ता छ ।
मृतक विकासको शव नजिकै फेला परेको अर्काे शव पनि सिमलताल घटनामा बेपत्ता भएका यात्रुकै भएको पुष्टि भएको छ । उक्त शव सर्लाही बरहथवा नगरपालिका–३ बस्ने वर्ष १९ को रमित कुशर माझीको भएको प्रहरीले बताएको छ ।
उनी काठमाडौँबाट गौर जाँदै गरेको बसमा सवार थिए । निजको बुवा रविन्द्र कुशर माझीले शवको सनाखत गरेका हुन् ।


