चितवन : चितवनको रामपुरमा पहिलोपटक आयोजना गर्न लागिएको कृषि वैज्ञानिक सम्मेलनको तयारी पूरा भएको छ । सम्मेलनमा स्वदेश तथा विदेशका कृषि वैज्ञानिकहरुको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले बुधवार (आज) भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी सम्मेलनको तयारी पूरा भएको जानकारी दिएको हो ।
सम्मेलनको कार्यक्रमअनुसार पहिलो स्नातक कार्यशाला (फस्ट ग्राजुएट कन्फ्रेन्स) भोलि ७ गतेदेखि ९ गतेसम्म रामपुरमा आयोजना हुन लागेको हो । कृषि विश्वविद्यालयबाट गरिएका अनुसन्धानका उपलब्धिहरुलाई प्राज्ञिक एवं सरोकारवाला समुदायहरूसम्म पुर्याउने उद्देश्यले कार्यक्रम गर्न लागिएको सम्मलेनका संयोजक डा. ऋषिराम कट्टेलले जानकारी दिए ।
कृषि तथा वन विज्ञानविश्व विद्यालयले सन् २०१३ बाट पठनपाठन सुरु गरेको थियो । अहिलेसम्म झन्डै पाँच हजार विद्यार्थीले यहाँ अध्ययन गरिसकेका छन् । कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापक, कर्मचारी तथा विद्यार्थी आयोजकका रुपमा रहनेने बताइयो । सम्मेलनमा उत्कृष्ट कार्यपत्र प्रस्तुत गर्नेलाई पुरस्कारको व्यवस्थासमेत मिलाइएको कट्टेलले बताए । सम्मेलनमा ३ सयको हाराहारीमा सहभागिता रहने अनुमान गरिएको छ । सम्मेलनको उद्घाटन सत्रमा प्रधानमन्त्री, वनमन्त्री, कृषिमन्त्री, शिक्षामन्त्री, बागमती प्रदेशका मुख्यमन्त्री, अन्य विश्वविद्यालयका उपकुलपतिलगायतको उपस्थिति रहने छ । साथै कृषि विश्वविद्यालयका पूर्वउपकुलपति, रजिष्ट्रार र पदाधिकारीहरू पनि सम्मेलनमा आउनेछन् ।
अनुसन्धानमार्फत कृषिमा रुपान्तरण गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको हो । सम्मेलनमा विभिन्न विषयमा समूहगत छलफल, विद्यार्थी, प्राध्यापक तथा नीति निर्माताहरूद्वारा कृषि, वन, पशुपालन, भेटेरिनरी र मत्स्यसँग सम्बन्धित अनुसन्धान र त्यसको नतिजासम्बन्धी करिब एक सयको हाराहारीमा कार्यपत्र प्रस्तुत गरिने छ । जलवायु परिवर्तन र त्यसको वैज्ञानिक व्यवस्थापनसम्बन्धी विशेष कार्यपत्रहरूसमेत प्रस्तुत गरिने भएको छ । कार्यक्रममा नेपाललगायत ताइवान, जापान, भारत र नेदरल्यान्डका गरी १० वैज्ञानिकसहित तीन सय भन्दा बढीको सहभागिता रहने छ। सम्मेलनबाट निकालिएको निचोडसँगै विश्वविद्यालयले आगामी दिनमा हुने अनुसन्धानको बाटो तय गर्ने आयोजकले अपेक्षा लिएका छन् ।

