मङ्सिर ०१, काठमाडौं । विद्युतीय कार निर्माता कम्पनी टेस्लाका सिइओ एलन मस्कले टेस्ला कम्पनीमा आफ्नो नाउँमा रहेको करीब ५ अर्ब डलर मूल्यको शेयर बिक्रि गरेका छन् ।
ट्वीटरमा रहेका आफ्ना ६ करोड ३० लाख फलोअर्सलाई टेस्लाको १० प्रतिशत शेयर बेच्ने कि नबेच्ने भनेर सोधनी गरेको केही दिनपछि नै मस्कले शेयर बिक्री गरेका हुन् ।उनले ट्वीटरमा गरेको मत सर्भेक्षणको नतिजामा शेयर बिक्रि गर्ने पक्षमा बहुमत आएको थियो । उनको ट्वीटर पोलमा झण्डै ३५ लाखले मत प्रकट गरेकोमा ५७।९ प्रतिशतले शेयर बेच्नुपर्ने बताएका थिए भने ४२.१ प्रतिशतले शेयर बिक्रि गर्न नहुने पक्षमा मत प्रकट गरे । तर त्यस्तो नतिजा आएको दुई दिनमै टेस्लाको शेयर १६ प्रतिशतले घटेको थियो ।
विश्वको सबैभन्दा मूल्यवान कार निर्माता कम्पनी टेस्लाको बजार मूल्य १ ट्रिलियन डलर भन्दा धेरै छ । मत सर्भेक्षणबाट टेस्लाको शेयर बेच्न सुझाव प्राप्त भएसँगै मस्कले सुरुमै झण्डै ४ अर्ब बराबरको टेस्लाको ३६ लाख कित्ता शेयर बिक्रि गरे । त्यस्तै उनले पछि थप ९ लाख ३४ हजार कित्ता शेयर १ अर्ब १० करोड डलरमा बिक्री गरेका छन् ।
टेस्ला कम्पनीमा रहेको उनको विशेष अधिकार अन्तरगत पछिल्ले ९ लाख ३४ हजार कित्ता शेयर बिक्रि गरेर उनले झण्डै २२ लाख कित्ता शेयर प्राप्त गरे ।
मस्कले ट्वीटर मत सर्भेक्षणका आधारमा टेस्लाको अर्बौँको शेयर बेचेको बताइएपनि शेयर बिक्रि गर्ने उनको योजना सेप्टेम्बरकै रहेको अमेरिकी स्कट नियामक निकायमा उनले पेश गरेको कागजातबाट देखिन्छ । त्यसमा उनले टेस्लामा रहेको आफ्नो करीब २० प्रतिशत शेयर बिक्रि गर्ने योजना पेश गरेका छन् ।
टेस्ला कम्पनी यसअघि एलन मस्कको शेयर हिस्सा २३ प्रतिशत रहेकोमा पछिल्लो पटक उनले बिक्रि गरेको शेयर ३ प्रतिशत हुन आउँदछ ।
एलन मस्कले सन् २०१६ पछि पहिलोपटक टेस्लाको शेयर बिक्रि गरेका हुन् । त्यसबेला पनि उनले झण्डै ६० करोड डलर आयकर तिर्न भन्दै टेस्ला कम्पनीमा रहेको आफ्नो शेयरको केही हिस्सा बेचेका थिए ।
विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कको सम्पत्ति हाल २ खर्ब ८० वर्ष रहेको छ । केही हप्ता अघि उनको सम्पत्ति ३ खर्ब डलर नाघेको थियो र उनी ३ खर्ब डलर सम्पत्ति हुने विश्वकै पहिलो व्यक्ति बनेका थिए ।
एजेन्सीको सहयोगमा

