कार्तिक २६, काठमाडौं । बाँकेको निर्मला कुर्मी प्रकरणमा गृह मन्त्रालयका सह–सचिव हिरालाल रेग्मीको नेतृत्वमा गठित छानविन समितिले पूर्वसभासद् बादशाह कुर्मीमाथि पनि अनुसन्धान गर्नुपर्ने निश्कर्ष निकालेको छ ।
समितिले गृहमन्त्री बालकृष्ण खाणलाई बुझाएको प्रतिवेदनको आधारमा ७ जना पक्राउ परिसकेका छन् । पक्राउ पर्नेमा किटानी जाहेरीमा उल्लेखित रमेश थापा, पार्वती विष्ट, कृष्णमुरारी सिंह, उर्मिला कनोजिया, अमरलाल कुर्मी, धीरेन्द्र सिंह र कुँवर बबन सिंह छन् । तीमध्ये बबन सिंह ८० वर्ष पुग्न लागेका वृद्ध भएकाले हाजिरी जमानीमा छाडिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी प्रमुख एसपी श्याम अधिकारीले बताए ।छानविन समितिले पूर्वसभासद् कुर्मीमाथि पनि अनुसन्धान गर्न भने पनि प्रहरीले उनलाई चाहिँ पक्राउ गरेको छैन । १० भदौ २०७८ मा अनुसन्धान अधिकारी समक्ष उपस्थित भई बयान दिएर हाजिरी जमानीमा छुटेकाले उनलाई फेरि समात्न कानूनी जटिलता रहेको एसपी अधिकारीले बताए ।
अधिवक्ता समेत रहेकी मानवअधिकारकर्मी मोहना अन्सारी भने हाजिरी जमानीमा छाडेपनि फेरि हिरासतमा लिएर अनुसन्धान गर्नसक्ने बाटो रहेको बताउँछिन् ।

