कार्तिक २४, काठमाडौं । आइसीसी टी-२० विश्वकप अन्तर्गत आज पहिलो सेमिफाइनल खेल इङल्याण्ड र न्यूजील्याण्डबीच हुदै छ। खेल आबुधाबीस्थित शेख जायेद स्टेडियममा नेपाली समय अनुसार साँझ पौने ८ बजे हुदै छ।
सुपर १२ को समुह १ बाट इङल्याण्ड समुहमा पहिलो हुदै सेमिफाइनलको यात्रा तय गरेको छ भने न्यूजील्याण्डले समुह २ बाट दोस्रो हुदै सेमिफाइनलमा पुगेको छ।
आइसीसीको टी-२० वरियतामा हाल इङल्याण्ड शिर्ष स्थानमा रहेको छ भने न्यूजील्याण्ड चौथो स्थानमा रहेको छ। यस विश्वकपमा दुवैले खेलेका ५-५ खेलमा ४-४ खेल जितेर सेमिफाइनल खेल्दै छन्।
टिमको प्रदर्शन हेर्दा इङल्याण्ड समग्रमा ब्यालेन्स टिम देखिए पनि अहिलेको न्यूजील्याण्डको टिमले कुनै पनि टिमला कडा टक्कर दिने क्षमता राख्छ। सुपर १२ का खेलमा इङल्याण्डले अस्ट्रेलिया जस्तो बलियो मानिएको टिमलाई पराजित गरेको थियो भने न्यूजील्याण्डले भारत जस्तो विश्वकपको दाबेदार मानिएको टिमलाई पराजित गरेको थियो।
इङल्याण्डलाई आफ्ना ओपनर जासन रोय घाइते भएर विश्वकपबाट बाहिरिएपछि ठुलो झट्का लागेको छ। इङल्याण्डका जस बटलर, आन्द्रे राशिद, मोइन अली, कप्तान इओन मोर्गन जस्ता खेलाडीको प्रदर्शन सेमिफाइनलमा महत्वपूर्ण हुने देखिन्छ। बटलरले यस विश्वकपमा एक शतक र एक अर्धशतकसहित २४० रन बनाएका छन्। त्यस्तै राशिदले५ खेलमा ८ विकेट लिएका छन्।
त्यसै गरी न्यूजील्याण्डका लागि मार्टिन गप्टिल, कप्तान केन विलियम्सन, ट्रेन्ट बोल्ट, इश सोढ़ीको खेल महत्वपूर्ण हुने छ। न्यूजील्याण्डका लागि यस विश्वकपमा गप्टिलले सर्बाधिक १७६ रन बनाएका छन्। त्यस्तै कप्तान विलियम्सनले १२६ र डार्यल मिचेलले १२५ रन बनाएका छन्। त्यस्तै ट्रेन्ट बोल्टले सर्बाधिक ११ विकेट लिएका छन् भने सोढ़ीले ८ विकेट लिएका छन्।
इङल्याण्डले यसअघि २०१० मा टी-२० विश्वकपको उपाधि जितेको थियो भने २०१६ मा वेस्टइन्डिजसँग फाइनलमा पराजित भएको थियो। त्यस्तै न्यूजील्याण्ड भने यस अघि २००७ र २०१६ मा सेमिफाइनलमा पुगेको थियो भने अहिलेसम्म टी-२० विश्वकपको फाइनलमा पुग्न सकेको छैन।
यसरी समग्रमा हेर्दा दुवै टिमबीच यो सेमिफाइनल निकै प्रतिष्पर्धात्मक हुने छ। इङल्याण्डको आक्रामक ब्याटिंग र अनुशासित बलिङ तथा प्रतियोगितामा न्यूजील्याण्डले देखाएको उत्कृष्ट फिल्डिङ यस खेलमा हेर्न लायक हुने छ। दुवै टिमका कप्तान इओन मोर्गन र केन विलियम्सनको शान्त स्वभाव र कुटिल रणनीति बनाउने शैली पनि यस खेलका हाइलाइटस् हुने छन्।

