कार्तिक १२, काठमाडौं । एएफसी यू-२३ एसियन कप छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ।
बिहीबार राति भएको खेलमा आयोजक ताजिकिस्तानसँग ६-० गोल अन्तरले पराजित हुँदै नेपालले लगातार दोस्रो हार ब्यहोरेको हो। ताजिकिस्तानसँगको हारसँगै नेपाल छनोटको समूह चरणबाटै बाहिरिएको छ।
ताजिकिस्तानलाई जित दिलाउन शेर्भोनी माबत्शोएभ, शारफजोन सोलेहोभ, रुस्तम सोइरोभ, मुहम्मादली अजिजबोएभ, भादत हानोनोभ र इमोमाली अखामादखोनले एक एक गोल गरे।
रिपब्लिकन सेन्ट्रल स्टेडियममा खेलको २४ औं मिनेटमा शेर्भोनीले गोल गर्दै ताजिकिस्तानलाई सुरुआती अग्रता दिलाएका थिए। ३३ औं मिनेटमा सोलेहोभले गोल गर्दा ताजिकिस्तान २-० ले अघि रह्यो।
खेलको ४१ औं मिनेटमा रुस्तमले गोल गरेपछि घरेलु टिम पहिलो हाफमा ३-० ले अघि रह्यो। खेलको ६३ औं मिनेटमा अजिजबोएभले गोल गर्दा घरेलु टिम ४-० ले अघि रह्यो। ६८ औं मिनेटमा हानोनोभले पेनाल्टीमा गोल गर्दै टिमको अग्रता ५-० को बनाए।
त्यसपछि खेलको ७२ औं मिनेटमा अखामादखोनले गोल गर्दै ताजिकिस्तानलाई ६-० गोलको जित दिलाए। जितसँगै समूह ‘बी’ को ताजिकिस्तानले २ खेलमा ६ अंक जोडेको छ। ताजिकिस्तान शीर्ष स्थानमा रहेको छ। ताजिकिस्तान यो लगातार दोस्रो जित हो। पहिलो खेलमा ताजिकिस्तानले लेबनानलाई हराएको थियो।
नेपाल अंक विहीन रहदै पुछारमा रहेको छ। नेपाल पहिलो खेलमा बलियो टिम इरानसँग ४-० गोल अन्तरले पराजित भएको थियो। अब नेपालले अन्तिम खेलमा नेपालले लेबनानसँग आइतबार खेल्नेछ।
समूहको शीर्ष टोलीले एएफसी यू-२३ एसियन कप खेल्नेछन्। यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि यू-२३ एसियन कपमा छनोट हुनेछन्।उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका रहेको छ।

