कार्तिक ०८, काठमाडौं । एएफसी यू-२३ एसियन कप छनोटमा नेपालले आज सोमबार बलियो टिम इरानविरुद्ध प्रतिस्पर्धा गर्दैछ।
ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपालले इरानको सामना गर्नेछ। नेपाल र इरानबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने ५ बजे सुरु हुनेछ।
इरानविरुद्ध मैदान उत्रदा नेपाल सुखद सुरुआत गर्ने योजनामा हुनेछ। नेपाली टिमका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले छनोटमा राम्रो नतिजा निकाल्न तयार रहेको बताएका छन्।
‘हाम्रा तीनै विपक्षीहरू गुणस्तरीय टोली छन्। हामीले वास्तविकतालाई स्वीकार गर्नुपर्छ र हामी राम्रो नतिजाको लागि तत्पर छौं। मेरा केटाहरू र म हाम्रो सक्दो प्रयास गर्नेछु,’ प्रशिक्षक महर्जनले भने।
तर, इरानविरुद्ध जित निकाल्न नेपाललाई सहज भने हुने छैन। किनकि इरानविरुद्धको यू-२३ खेलमा नेपालले जित निकाल्न सकेको छैन।
नेपालले यू-२३ एसियन कप छनोटमा इरानसँग दोस्रो पटक खेल्न लागेको हो। यस अघि नेपालले सन् २०१५ मा इरानसँग उसैको घरेलु मैदानमा खेलेको थियो। त्यस खेलमा इरानले नेपाललाई ५-० ले पराजित गरेको थियो।
छनोटको समूह ‘बी’ मा रहेको नेपालले दोस्रो खेलमा ताजिकिस्तानसँग अक्टोबर २८ मा खेल्दा अन्तिम खेल लेबनानसँग अक्टोबर ३१ मा खेल्नेछ।
समूहको शीर्ष टोलीले एएफसी यू-२३ एसियन कप खेल्नेछन्। यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि यू-२३ एसियन कपमा छनोट हुनेछन्।उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका रहेको छ।

