कार्तिक ०६, पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिकामा पहिरोमा परि घाइते भएकाको उपचार गर्न हिँडेका दुई जना स्वास्थ्यकर्मी बेपत्ता भएका छन् ।
छिमेकी जिल्ला इलामको माङसेबुङ गाउँपालिकाबाट पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ मा रहेकाे चिसापानी पञ्चमी हिँडेका स्वास्थ्यकर्मी सुमन राई र ठाकुरसिंह याक्खा पाँच दिनदेखि सम्पर्कविहीन रहेका मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले जानकारी दिनुभयो ।
पाँचथरमा बाढीपहिरोमा परि बेपत्ता हुनेको सङ्ख्या ६ पुगेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार मिक्लाजुङमा तीन, फिदिममा दुई र फाल्गुनन्दमा एक जना बेपत्ता भएका छन् । उनीहरूको खोजीका लागि स्थानीयसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिरहेका जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिनुभयो ।
पाँचथरमा अहिलेसम्म बाढीपहिरोमा परि ३० जनाले ज्यान गुमाइसकेका छन् ।

